यस्तो हुनेछ विराटनगरमा आगामी चैत १८–२६ सम्मको ट्रेड एक्स्पो

यस्तो हुनेछ विराटनगरमा आगामी चैत १८–२६ सम्मको ट्रेड एक्स्पो

विराटनगर । आगामी चैत १८ गतेदेखि २६ गतेसम्म विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ आयोजनाको तयारी सुरु गरिएको आयोजकले जानकारी दिइएको छ । अन्तराष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी बारे आयोजक संस्था मोरङ व्यापार संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो ।

मेला आयोजक समितिका संयोजक एवं व्यापार संघका उपाध्यक्ष विकासकुमार बेगवानीका अनुसार २८१ स्टल मेलास्थलमा हुनेछन् । जसमध्ये ८० स्टल एसीडोम सुविधासहितका हुनेछन् । एसी डोम सुविधासहितको स्टलले ६० हजार रुपिँया बुझाउनु पर्नेछ । कुलर सुविधा भएका स्टलले ४० हजार, नर्मलले ३० हजार, खाद्यन्न स्टलले ६० हजार र अटो मोर्टर्सका स्टलले ७० हजार रुपिँया बुझाउनु पर्नेछ ।
मेला आयोजनामा तीन करोड लागत लाग्ने अनुमान गरिएको छ । नौ दिनमा ४० करोडको कारोबार गर्ने लक्ष्य रहेको संयोजक बेगवानीले जानकारी दिनुभयो । मेलामा दुईलाख अवलोकनर्ता पुग्ने अनुमान गरिएको छ ।

यति धेरै महत्वकांक्षासहित आयोजना गर्न लागिएको मेलाको विशेषता भने विराटनगरमा यस अगाडी लाग्ने भन्दा फरक रहेको छ । आयोजकले मेलास्थलमा लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाको प्रदर्शनी कक्ष बनाएर त्यहाँ सेल्फी जोन तोक्ने भएको छ । त्यस बाहेक विराटनगरमै साहसिक खेलको आनन्द लिन मेलास्थलमा जिप लाइन, रिभर्स बन्जी, जिप साइक्लिनिङ्गको सुविधा समेत रहने संयोजक बेगवानीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यो सरकारका लागि उद्योगी व्यापारीले गर्ने सांकेतिक आन्दोलन पनि हुनेछ, संयोजक बेगवानीले भन्नुभयो–नेपालमा अन्तराष्ट्रियस्तरका ख्याती प्राप्त संरचनाको प्रदर्शनी गरेर हाम्रो देशमा यस्ता संरचना कहिले बनाउने भन्ने दवाव सिर्जना गरिनेछ ।

पत्रकार सम्मेलनमा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले फरक तरिकाको शैलीमार्फत विराटनगरमा केहि न केहि भित्र्याउने उद्देश्यसहितको मेला आयोजना गरिने बताउनुभयो । रिजालले विगतमा विराट गोल्डकप आयोजनाको संयोजन गर्दा बाँसमा फ्लड लाइट राखेर रात्रीकालिन फुटबल प्रतियोगिता गराएको स्मरण गर्दै यस पटकको मेलालाई समेत त्यस्तै प्रभावकारी बनाउने दावी गर्नु भएको छ । अध्यक्ष रिजालले फ्लड लाइटको परीक्षण गरेसँगै त्यसको प्रभावले विराटनगरमा स्थायी संरचनासहितको फ्लड लाइट जडान गरिएको छ ।


संघले विगतमा कोशी महोत्सव–२०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला–२०५७, विराट महोत्सव–२०६२ र २०७०, विराट ट्रेड एक्स्पो–२०७५ आयोजना गरेको थियो । विगतका अनुभवबाट सिक्दै यस पटक मोरङ व्यापार संघ ट्रेड एक्स्पोको नामबाट नयाँ आकर्षण र उच्च कारोबार गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्