जबरजस्ती करणी मुद्दामा सिद्धबाबाको अदालती सुनुवाई आज हुँदै

जबरजस्ती करणी मुद्दामा सिद्धबाबाको अदालती सुनुवाई आज हुँदै

विराटनगर । धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरमा आज सुनुवाइ हुँदैछ ।

उच्च अदालत विराटनगरमा उक्त मुद्दाको पेशीमा भएको गोलाप्रथामा उक्त मुद्दा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इजलासमा परेको छ । सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले एक भक्तालु महिलामाथि करणी गरेको स्वीकार गरिएको छ । सिद्धबाबाकी भक्तजन पीडित २६ वर्षीय महिलाले आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएकी हुन् ।

गिरीले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रम्हचर्य तोडिदिएको भन्दै सफाइको मागसहित अर्को मुद्दा दर्ता गराएका छन् । दुवै मुद्दालाई एकै ठाउँमा राखेर अदालतले सुनुवाइ गरिरहेको छ । सोलुखुम्बु घर भई सुनसरीको बराहक्षेत्रस्थित पवित्र धार्मिक स्थलमा बस्ने गिरी आफूलाई बाल ब्रह्मचारी भएको दाबी गर्दथे । उनै धर्मगुरुले आफूलाई बलात्कार गरेको भन्दै एक २६ वर्षीय अनुयायीले २०७७ मंसिर ११ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दर्ता गरेकी थिइन् । कात्तिक ४ गते सिद्धबाबाले आश्रममा बोलाएर आफूलाई अनुचित प्रभावमा पारी मोहित बनाएर बलात्कार गरेको ती महिलाको आरोप छ ।

त्यस घटनाको विरुद्धमा २०७६ पुस १० गते सिद्धबाबाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो भने २०७७ मङ्सिर २२ गते जिल्ला अदालत सुनसरीले फैसला सुनाएको थियो ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले ०७७ साल मङ्सिर २२ गते गरेको फैसलामा सिद्धबाबाले राजीखुशीमै महिलासँग यौनसम्बन्ध राखेको उल्लेख छ । जिल्ला अदालतको फैसलाले करणी पुष्टि गरेको छ । तर, धर्मगुरुको शरणमा परेको अवस्थामा आफूलाई अनुचित प्रभावमा पारेर करणी गरिएको हुनाले बलात्कारको आरोपमा सिद्धबाबालाई कानुनी कारबाही हुनुपर्ने महिलाको मागदाबी छ । सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतरा हनुमान मन्दिरस्थित जगत गुरु आश्रममा बस्ने सिद्धबाबा धर्मगुरु हुन् ।

–रातोपाटीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्