नोबेल अतिरिक्त शुल्क प्रकरण : विद्यार्थीहरुलाई कलेज फर्कन आग्रह

नोबेल अतिरिक्त शुल्क प्रकरण : विद्यार्थीहरुलाई कलेज फर्कन आग्रह

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीहरुसँग चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित विपरित शुल्क नलिएको दाबी गरेको छ ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कलेजले यस्तो दाबी गरेको हो । एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरुले कलेजको वारेमा कपोकल्पित र भ्रामक कुरा उल्लेख गरी विभिन्न सञ्चारमाध्यममा अफवाह फैलाएको भन्दै कलेजले यसमा कुनै सत्यता नरहेको जारी विज्ञप्तिमा उल्लेख छ । ‘यस कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शीर्षकहरुमा तोकिएको भन्दा कुनै बढी शुल्क माग गरेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको भ्रामक सूचना प्रवाह नगर्न विद्यार्थीहरुलाई आग्रह गर्दछौ र यस्तो कपोकल्पित कुरामा विश्वास नगर्नुहुन सबैमा अनुरोध छ ।’

नोबेल मेडिकल कलेज, चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र शिक्षा मन्त्रालयबिच २०७८ पुस ३० गते भएको लिखित सहमतिलाई अक्षरस पालना गर्न कलेज प्रतिबद्ध रहेको नोबेलले जनाएको छ । यस्तै, विद्यार्थीहरुलाई कलेजमा उपस्थित भई अध्ययन गर्न कुनै बाधा व्यवधान नरहेको पनि नोबेलले स्पष्ट पारेको छ ।

हालसम्म नियमित अध्ययन प्रक्रियामा समावेश नभएका विद्यार्थीहरुलाई यथासक्य चाँडो कलेजको सम्पर्कमा आएर अध्ययनमा सहभागी हुने वातावरण मिलाइदिन नोबेलले चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयलाई अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्