होलीलाई मर्यादित बनाउन मोरङ प्रहरीको बिशेष सुरक्षा रणनिति : जबरजस्ती रङ दले सिधै कारबाही

होलीलाई मर्यादित बनाउन मोरङ प्रहरीको बिशेष सुरक्षा रणनिति : जबरजस्ती रङ दले सिधै कारबाही

विराटनगर । रङहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले बिशेष सुरक्षा रणनिति तयार पारेको छ ।

होलीको समयमा हुनसक्ने विभिन्न उच्छृङखल गतिविधिलाई नियन्त्रण गर्न मोरङ प्रहरीले होली लक्षित सुरक्षा योजना बनाएको हो । शुक्रबार होलीको दिन जिल्लाभर ठुलो संख्यामा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्थामा कडाई गर्ने तयारी रहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुनै अप्रिय घटना हुन नदिन शुक्रबार जिल्लाभर करिब ६०० प्रहरीहरु परिचालन गरिने छन् । जसअन्तगर्त विराटनगर महानगरपालिका भित्र मात्रै २७ ठाउँमा प्रहरीको पिकेट डियुटी र चेक प्वाईन्टहरु रहनेछन् । जिल्लाभरका बाँकी ६८ ठाउँमा प्रदेश प्रहरी र ताल्लुकका कार्यालयहरु सँगको समन्वयमा प्रहरी परिचालनको तयारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताए ।

होलीलाई सुुरक्षित बनाउन मोरङ प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा संयुक्त टोली परिचालनको तयारी समेत गरेको छ । होलीका दिन आम सर्वसाधारण र सवारीसाधनको आवागमन तुलनात्मक रुपमा बढ्ने भएकाले चेकजाँच र बिशेष निगरानीको प्रबन्ध मिलाईएको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक मुकारुङले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङले भने सुरक्षित र मर्यादित होली मनाउन आम जिल्लाबासीमा आग्रह समेत गरेको छ । कसैको इच्छा विपरित लोला हान्ने, रङ लगाउने, ट्राफिक नियम उल्लङ्गघन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला तथा झैं–झगडा गर्ने लगायतका क्रियाकलाप नगर्न मोरङ प्रहरीको अनुरोध छ । त्यसो गरेको पाईए कानुन बमोजिम कारबाही हुने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्