विराटनगर । स्थानीय तहको निर्वाचन बैशाख ३० गते निश्चित भएसँगै विराटनगरको आगामी मेयरको उमदेवार र पाँचवर्षको विकास बारेको समिक्षा सुरु भएको छ । पाँचवर्ष अगाडीदेखि नै विकासमा पहल सुरु गरिसकेको विराटनगरले निर्वाचित जनप्रतिनिधिबाट भए गरेका कामको चर्चा आम नागरिकमा हुन थालेको छ ।
यतिबेला विराटनगरको नेतृत्व गरेको नेपाली काँग्रेसमा मेयरको नयाँ नाम जुराउने कसरत सुरु भएको छ । पाँचवर्षसम्म अनुभव लिईसकेका मेयर भीम पराजुलीले पुनः दावी प्रस्तुत गरिसकेको स्थितिलाई मध्यनजर गर्दै नेपाली काँग्रेसमा संभावित मेयरका उमेदवार अन्य व्यक्तिबाट ल्याउनु पर्ने चर्चा चुलिएको छ । चर्चामा रहेका नामहरुमा क्रमशः पार्टीका केन्द्रीय सदस्य तथा प्रभावशाली नेताहरु अमृत अर्याल, डा.डिला संग्रौला, प्रदेश सदस्य गोपाल रेग्मी र महानगर सभापति दिपक चापागाँई छन् ।
यस्तै एमालेबाट केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की र महानगर अध्यक्ष सागर थापाको नामको चर्चा छ । निर्वाचन अगाडी उमेदवार बन्नेको नाम चर्चामा हुनु सामान्य हो तर एक कार्यकाल जनप्रतिनिधिले नेतृत्व गरिसकेको प्रदेश १ को एक मात्रै महानगरपालिकामा यसको साख जोगाउन जित्नुपर्ने तर्क र बहस समेत सँगसँगै सुरु भएको छ ।
नागरिकबीचमा मेयर बारे चासो जाग्नु स्वभाविक हो । तर, नेपाली काँग्रेसबाट उमेदबार बनेर मेयरमा निर्वाचित भएको विराटनगरमा स्वयम् काँग्रेसले भरपर्दो मेयर खोजिरहेको विषय अझै बढी चाखलाग्दो र चर्चामा छ । नेपाली काँग्रेस विराटनगरमहानगर समितिका सभापति दिपक चापागाँई प्रोजेक्ट नआएको भए विराटनगर खण्डहर शहर मात्रै हुने भएकोले जित्नका लागि मात्रै नभई केहि गर्नका लागि मेयर बन्नुपर्ने तर्कगर्नुभयो ।
सभापति चापागाँईले आगामी निर्वाचनमा मेयरकोे दावी रहेको बताउँदै विगतका पाँचवर्षको समिक्षा गर्दा विराटनगरले फड्को मार्नुभन्दा घस्रदैं दिन बिताएको बताउनुभयो । नेपाली काँग्रेसमा नगरको सभापति नै मेयरको प्रवल दावेबार हुने बताउनु भएका चापाँगाईले काँग्रेस बनाउन अहिले दैनिक घरदैलोमा रहेको सुनाउनुभयो ।
विगत पाँचवर्ष नेपाली काँग्रेसले नेतृत्व गरेको विराटनगरको विकासमा त्यस अगाडी नै संघीय सरकारले भित्र्याएको परियोजना बाहेक एउटा पनि भरथेग नभएको सभापति चापागाँईको बुझाई छ । मेयर पराजुलीले नयाँ कुनैपनि योजना ल्याएर विराटनगर बनाउन नसक्नुले देशभरका ठूला शहरमध्ये विराटनगरपछि परेको विश्लेषण गर्नेहरु पनि काँग्रेस भित्रै धेरै छन् । विराटनगरमा चिल्ला र फराकिला सडक निर्माण भएका छन् । भित्री खण्डमा समेत सडक बनेका छन् । पाँचवर्ष अगाडी भन्दा अहिले स्वरुप परिवर्तन भएको छ । तर, जनप्रतिनिधि निर्वाचित भएर आउनु अगाडी कै प्रजोक्ट कार्यन्वयन हुँदा विराटनगर बनेको हो । कतिपयले विराटनगर बन्नुमा तत्कालिन कार्यकारी अधिकृतको भूमिका निर्वाह गरेका गोपाल रेग्मीलाई श्रेय दिने गरेका छन् ।
नयाँ, फराकिला र चिल्ला सडक निर्माण रेग्मीको पालाका योजना कार्यन्वयनले मात्रै भएको भन्दै मेयरमा उठाउनु पर्ने चर्चा उतिकै छ । कर्मचारीबाट अवकास लिनु भएका रेग्मी अहिले नेपाली काँग्रेसको प्रदेश नम्बर १ को सदस्यमा निर्वाचित भईसक्नु भएको छ । रेग्मीकै भाषामा भन्ने हो भने एशियाली विकास बैंकको सहयोगमा विराटनगरमा बनेका सडकले जनप्रतिनिधिलाई राहत दिएको छ । तर, नयाँ काम के–के भए भनेर सोध्दा उत्तर दिने योजना कुनैपनि छैनन् ।
विराटनगर भित्र ७ अर्ब भन्दा बढी रकम खर्च गरेर सडक बनेका हुन् । यसको मापदण्ड निर्धारण भने २०५४ सालमा भएको थियो । त्यो मापदण्डमा टेकेर सरकारले विराटनगरको विकासका लागि प्रोजेक्ट कार्यन्वयन गर्ने सम्झौता गरेको थियो । एसियाली विकास बैंकको अनुदानमा महानगरपालिका क्षेत्रमा १५० किलोमिटर सडक निर्माण भएको छ । विराटनगरमा सन् २००८ मा एसियाली विकास बैंकको आर्थिक सहयोगमा मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजनाको प्रक्रिया शुरु भएको थियो । परियोजनाबाट सडक, बजार क्षेत्रमा ढल ब्यवस्थापन, फोहोर र वर्षातको पानी निकासका लागि नाला निर्माणसहितका काम शुरु भएको थियो । पहिलो चरणमा कूल ३ अर्ब २७ करोड रुपैयाँको बजेटमा ३६ किलोमिटर ठूला नाला र ४३ किलोमिटर ढल प्रणाली निर्माण भएको थियो ।
दोस्रो परियोजना (आरयूडीपी) २ अर्ब ६१ करोड १० लाख रुपैयाँको बजेटमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । यो परियोजनाको प्रस्ताव पनि रेग्मी कार्यकारी अधिकृत भएकै बखत भएको थियो । सम्झौता भईसकेको परियोजना उनको सरुवा भएपछि कार्यन्वयनमा आयो । कार्यन्वयन गर्ने समयमा निर्वाचित जनप्रतिनिधि आएका थिए । त्यसपछि विराटनगरका लागि ठूलो योजना भित्र्याउने काम नभएको काँग्रेसका महानगर सभापति चापागाँई बताउनुहुन्छ । पछिल्लो समय सरकारले जापान सरकारको अनुदाान सहयोगमा खानेपानी सुधार आयोजना सञ्चालनका लागि सम्झौता गरेको छ । यसको कार्यन्वयन आगामी दिनमा हुनेछ ।
महानगरमा आरयूडीपीअन्र्तगत खानेपानी पाइप लाइन विस्तार, पश्चिमतर्फको केसलिया र बरगाछी, पूर्व रंगेली रोड, धर्मभक्त मार्ग, घोघा मार्गमा थप निर्माण, विद्यु्त पोल सार्ने आदि कामका लागि ३ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खर्च हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । महानगरक्षेत्रमा १८ किलोमिटर नयाँ खानेपानी लाइन विस्तार गर्न महानगरले आफ्नै बजेट खर्च गरेको थियो । परियोजनाअन्तर्गत नौवटा ठूला नाला तथा आधुनिक शैलीबाट एस्पाल्ट कन्क्रिट ४० एमएम सडक निर्माण सम्पन्न भएका छन् ।
नेपाली काँग्रेस मात्रै नभई नेकपा एमाले भित्र समेत विराटनगरको मेयरमा चर्चा रहेका व्यक्तिहरुले विकासमा पाँचवर्ष धकेलिएको महानगरलाई उठाउन आफ्नो पार्टीको जीत हुनुपर्ने दावी गर्दै आएका छन् । नेकपा एमाले विराटनगर महानगर समितिका अध्यक्ष सागर थापाले विराटनगर देशैभरका शहरमध्ये पछि परेको तर्कगर्नुभयो । थापाले महानगरलाई उकास्न घस्रेर मात्रै नपुग्ने बताउँदै सिर्जनशिल मेयरलाई निर्वाचित गर्नुपर्नेमा जोड दिनुभयो । योजना बनाएर त्यसमा बजेट व्यवस्थापन गर्नसक्ने हैसियत विराटनगरमा निर्वाचित जनप्रतिनिधिमा देखिएन, थापाले भन्नुभयो–सात करोड रुपिँया बराबर गुरुयोजनामा खर्च भएको छ तर शिलन्यास गरिएका योजना समेत बनेका छैनन् । गुरुयोजना निर्माणमै भ्रष्टचार भएको छ, बाँकी कामको शिलशिला क्रमशः सार्वजानिक गर्दै जानेछौं ।
थापाले ऋण लिएर कार्यन्वयन गरिनुपर्ने परियोजनामा समेत मापदण्ड पालना गराउन नसकेको आरोप लगाउनुभयो । सडक निर्माणको मापदण्ड पालना नगर्दा कतै बाङ्गो र कतै साना सडक बनाउन जनप्रतिनिधि नै लागेको आरोप अध्यक्ष थापाको छ । थापाले विराटनगरमा जित्नु मात्रै ठूलो कुरा नभएको बताउँदै काम गर्ने मेयरको खोजी गर्नुपर्नेमा नगरवासीको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका नेता भोगेन्द्र यादवले एउटा मात्रै काम देखाई दिए उदाहरणको रुपमा प्रस्तुत गर्न हुने बताउनुभयो । नेता यादवले काँग्रेसको आधार क्षेत्र भएको विराटनगर काँग्रेस नेतृत्वले नै डुबाएको बताउनुभयो । महेन्द्रचौक–ट्राफिकचौकमा बनिरहेको सडक संरचना समेत विराटनगरका लागि दुःख दिने बाहेक केहि नभएको यादवको टिप्पणी थियो । यादवले अब पनि उहि पुरानै अनुहार दोहोरिने स्थिति आए विराटनगर दशवर्षपछि धकेलिने दावी गर्नुभयो ।
काँग्रेस र एमाले पार्टीका महानगरका सभापति\अध्यक्षले पाँचवर्षमा विराटनगरमा भए गरेका कामहरुको फेहरिस्त मेयरले सार्वजानिक गर्नुपर्ने माग समेत गर्नुभयो । शिलन्यास गरिएको भ्यू टावर बन्न नसक्नुको कारण खुलाउनु पर्ने, आकाशे पुल निर्माणको काम किन नबढेको हो जानकारी गराउनु पर्ने माग पार्टी नेतृत्वको छ । त्यस बाहेक के–के योजनामा कति खर्च गरेर निर्माण गरिएको छ भन्ने कुरा महानगर छोड्नु अगाडी नै सार्वजानिक हुनुपर्ने माग गरिएको छ ।