इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका १ स्थित बिष्णुमाया पुस्तकालयसँगै यसको सामुदायिक भवन छ । त्यहाँ पुग्दा नौजना महिला सधैं भेटिन्छन् । उनीहरु हुन् सिर्जनशील महिला समूहमा आवद्ध भएका स्थानीयहरु । उनीहरुको समूह जस्तै कार्य पनि सिर्जनशील छ । सामुदायिक भवनमा कार्यक्रम हुने भए उनीहरुकै भान्साले टर्छ । कार्यक्रम नभए बात्ति काटेर दिन बित्छ ।
‘फुर्सदको समयलाई हामीले यसरी नै सदुपयोग गर्दछौं’ समूहकी लिला घिमिरेले भनिन्–हाम्रो क्याट्रिङ सेवा पनि छ, जसले घरमा खाए जस्तो खाना बनाएर कार्यक्रम हुँदा खुवाउँदै आएको छ । विष्णुमाया पुस्ताकालयमा उनीहरु दैनिक भेला हुन्छन्, गफगाफ गर्दछन् । त्यस बाहेक त्यहाँ ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउने नागरिकहरु पनि हुन्छन् । पुस्तकालयमा विद्यार्थी पनि पुग्छन् ।
विष्णुमाया पुस्ताकालयमा आउने ज्येष्ठ नागरिकहरुलई सिर्जनशील महिला समूहले पकाएको खाजा,नास्ता तयार हुन्छ । घरको काम सकाएर महिलाहरु सामुदायिक भवनमा आउने गरेको सुनाउँछन् ।
६० वर्षीया लिला घिमीरेका दुई सय जनासम्मलाई क्याट्रिङ सेवाबाट खाना खुवाउन सक्ने क्षमता उनीहरुको छ । खानामा घरको स्वाद पाईने भएपछि अहिले त्यसको लोकप्रियता समेत झनै बढेर गएको छ । उनीहरुले कार्यक्रममा पेटको हिसाबले खानाको मूल्य लिने गरेका छन् । सादा खानाको १७५ रुपैयाँ, कुखुराको मासु सहितको खाना २५० र खसीको मासु सहितको ३ सय ५० रुपैयाँ पर्छ ।
उनीहरुले सादा खानाको स्टिमेट निकालेर बसेका हुन्छन् । यदि कसैले कार्यक्रम गरेर मासु आफैं उपलब्ध गराउने भए त्यसलाई पकाएको पैसा केजीका आधारमा लिने गरेका छन् । हैन मासुसहित भनेपनि हामीले जोहो गर्दछौं, घिमिरेले सुनाइन्– विवाह, ब्रतवन्ध, सभा सेमिनार लगायतका कार्यक्रममा खाना बनाउन नौजना महिला सधैं तयार हुन्छौं ।
महिलाहरुको समूहले २०८० साल देखि क्याट्रिङ संचालन थालेका हुन् । यसरी गृहणीहरुले फुर्सदको समयलाई व्यवसायिकीकरण गरेर राम्रो आम्दानी आर्जन गरेका छन् । घरधन्दाबाट फुर्सद पाउनासाथ मोबाईमा समय विताउनेहरुको माझ यसरी व्यवसाय गर्ने कार्य गरेर प्रेरित गर्ने महिलाहरु विराटनगरका उदाहरणीय छन् ।