विराटनगरमा माओवादी केन्द्रको निर्वाचन अभियान सुरु

विराटनगरमा माओवादी केन्द्रको निर्वाचन अभियान सुरु

विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगर महानरपालिकामा निर्वाचन अभियान सुरु गरेको छ । सोमबार पार्टी कार्यालय तीनपैनीमा केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले निर्वाचन अभियान उद्घाटन गर्नु भएको हो । केन्द्रीय समितिको निर्णय अनुसार महानगरपालिकाको निर्वाचनको कमाण्ड सांसद मण्डलले गर्नुहुनेछ ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा महानगरमा सशक्तरुपमा अभियान सञ्चालन गर्ने नेता मण्डलले अभियान उद्घाटनको क्रममा बताउनुभयो । गणतन्त्र, संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व आदि मुद्दाहरु ठिक ढंगले कार्यान्वयन गराउन माओवादीले जित्नै पर्ने नेता मण्डलको भनाई थियो ।
विराटनगर महानगरपालिकामा माओवादी केन्द्रको बलियो उपस्थिति रहेको छ । नेपाली काँग्रेसको नेतृत्वमा पाँच वर्षसम्म महानगर सञ्चालन हुँदा विराटनगर विकासमा धेरै पछि परेको निष्कर्ष माओवादीको छ । काठमाण्डौपछि दोस्रो ठूलो सहरको रुपमा चिनिएको विराटनगर पाँच वर्षमा सात महानगरमध्ये छैठौं नम्बरमा खुम्चिनुले काँग्रेसको नेतृत्व असफल बनेको नेता मण्डलको भनाइ थियो ।

निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन नगरकमिटीका पदाधिकारी तथा सिनियर नेताहरुले वडाहरु कमाण्ड गर्ने गरी जिम्मेवारीसमेत दिएको छ । अब महानगरका अध्यक्ष नविन पौडेलले ३ नं वडाको निर्वाचनको कमाण्ड सम्हाल्ने गरि तोकिएको छ । सचिव नमिता न्यौपानेले वडा नम्बर ४ को कमाण्ड सम्हाल्ने, गरि जिम्मेवारी दिइएको छ । माओवादीले १९ भौगोलिक वार्ड र मजदुर र कर्मचारीका दुई गरी २१ वार्डको कमाण्डरसमेत तोकेर निर्वाचनमा परिचालन गरेको छ ।
निर्वाचन प्रचारप्रसारका लागि महानगर कमिटी, वडा कमिटी, महानगरका युवा, विद्यार्थी, कर्मचारी, महिला, शिक्षक, कर्मचारी र मजदुर कमिटीहरु, जेष्ठ नागरिक मञ्चसमेतको सहभागितामा १५ सय सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको छ ।

निर्वाचन अभियानसँगै संगठन निर्माण, पार्टी सदस्यता र समर्थक सदस्यता विस्तार लगायतका काम गर्दै पार्टीको नीति, कार्यक्रम र योजनाहरु जनताका बिचमा लैजाने अध्यक्ष नविन पौडेलले बताउनुभयो । माआवादीले चैत्र १५ गतेभित्र घोषणापत्र तयार पार्न वडाहरुलाई निर्देशन दिइएको छ । यस्तै चैत्र २५ गतेभित्रमा वडाका उम्मेदवारहरुको सिफारिस गरिसक्नु पर्ने परिपत्र जारी गरिएको छ ।
नेकपा माओवादी केन्द्रबाट विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेतृत्व गर्नका लागि तीन जना आकांक्षीहरु देखिएका छन् । २०७४ सालको निर्वाचनमा प्रमुखको रुपमा उम्मेदवार बनाएर तालमेलको निर्णयका कारण पछि सारिएका भोगेन्द्र यादव, उपमेयरमा उम्मेदवार दिएकी नमिता न्यौपाने, र वर्तमानमा महानगर कमिटीका अध्यक्ष नविन पौडेलको प्रमुखमा दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्