विराटनगरस्थित सत्यनारायण माविका ३७ जना विद्यार्थीलाई २ लाख बढीको छात्रवृत्ति

विराटनगरस्थित सत्यनारायण माविका ३७ जना विद्यार्थीलाई २ लाख बढीको छात्रवृत्ति

विराटनगर । विराटनगरस्थित सत्यनारायण माविका ३७ जना विद्यार्थीहरुलाई २ लाख बढीको छात्रवृत्ति प्रदान गरिएको छ ।

मङ्गलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयका २२ जना विद्यार्थीहरुलाई समाजसेवी दिनबन्धु गोयलद्वारा संरक्षित स्व. सुमनदेवी गोयल र १५ जनालाई विद्यालयको आन्तरिक श्रोतबाट छात्रवृत्ति प्रदान गरिएको हो । कक्षा ९ र १० का विद्यार्थीहरुलाई जनही रु. ३ हजार तथा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई जनही ४ हजारका दरले स्व. सुमनदेवी गोयल छात्रवृत्ति पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार शैक्षिक सत्र २०७७/०७८ सालमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयबाटै छनौट भई आएका योग्य विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको समाजसेवी दिनबन्धु गोयलले बताए ।

विद्यालयले आफ्नो आन्तरिक श्रोतबाट पनि कुल १५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयले कक्षा ६ देखि ९ र कक्षा ११ को वार्षिक परीक्षामा प्रथम हुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ । जसमा विद्यालय व्यवस्थापन समितिको ०७८ असोज २१ गते बसेको बैठकको निर्णयानुसार कक्षा ११ को व्यवस्थापन र कानुन संकायतर्फ एमी गौतम र पर्शुराम गौतमलाई जनही ७/७ हजार तथा इलेक्ट्रिकल संकायका दिपककुमार साहलाई १७ हजार ५ सय र शिक्षा संकायका रुपलाल किस्कुलाई ६ हजार छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले बताए । उनले कक्षा ६ देखि ९ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा अध्ययनरत विद्यार्थीहरुलाई समेत छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए ।

विद्यालयले कक्षा ६ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण हुने अंग्रेजी र नेपाली माध्यमका १/१ जना विद्यार्थीलाई जनही ३ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । यस्तै विद्यालयले कक्षा ७, ८ र ९ मा पनि अंग्रेजी तथा नेपाली माध्यमका १/१ जना गरि कुल ६ जना विद्यार्थीलाई क्रमशः ३ हजार ५ सय, ४ हजार र ४ हजार ५ सयका दरले छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ । विद्यालयका अनुसार कक्षा ९ मा भने अंग्रेजी र नेपाली माध्यमका साथै इलेक्ट्रिकल बिषय लिएर अध्ययन गरिरहेका १ जना विद्यार्थीलाई समेत ४ हजार ५ सयको छात्रवृत्ति दिईएको छ ।

यसबाहेक कक्षा ११ कोे विज्ञान संकायमा उत्कृष्ट नतिजा ल्याउने १ छात्र र १ छात्रालाई जनही २८ हजार छात्रवृत्ति प्रदान गरिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्