विराटनगरमा जसपाका यी हुन् पाँच दाबेदार

विराटनगरमा जसपाका यी हुन् पाँच दाबेदार

विराटनगर । जनताको मतलाई सदर गराउने मतदाता शिक्षा दिन नसक्दा २०७४ सालको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाबाट संघीय समाजवादी फोरम नेपालबाट मेयरका उमेदवार बनेका उमेश यादवले पराजय भोग्नु प¥यो । यादवले १४ हजार ९५८ सदर मत पाउँदा १२ हजार भन्दा बढी मत भएको थियो ।

उमदेवारको टुङ्गो समयमै नलगाउँदा यादवले मतदातासम्म पुगेर मत माग्न नपाएको अहिले गुनासो गर्छन् । तत्कालिन संघीय समाजवादी फोरम नेपाल अहिले जनता समाजवादी पार्टीको रुपमा छ । त्यसपछि पार्टीमा आएको फेरबदल र नयाँ शक्तिसँगको एकताले विराटगरमा आधार संगठन थप मजबुत भएको दावी छ ।
स्थानीय तह निर्वाचनको मिति आगामी २०७९ बैशाख ३० गते हुने निश्चित भएसँगै अहिले जनता समाजवादी पार्टीमा अघिल्लो निर्वाचनमा मेयरको उमेदवार बनेका यादवसँगै भुराज राई, तेजलाल कर्ण र भरत दाहाल आकांक्षीको रुपमा देखा परेका छन् । त्यस बाहेक पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले समेत दावी प्रस्तुत गरिसकेका छन् ।

जसपामा मेयरका दावेदार रहेका पाँचमध्ये चारजना विराटनगरका लागि ह्याब्भीवेट मानिन्छन् । उमेश यादव अघिल्लो निर्वाचनमा समेत राम्रो मत पाएका उमदेवार हुन् । त्यस बाहेक उनी विद्यार्थी राजनीतिमा सक्रिय हुँदै विराटनगरकै माटोमा हुर्केका युवा हुन् । यादवले नेतृत्वले दिइएको गाइडलाइनमा टेकेर आगामी निर्वाचनमा मेयरको उमेदवार बन्ने मात्रै नभई जीत सुनिश्चित रहेको दावी गरे ।
यादवप्रतिको धारणमा समेत पछिल्लो समय धेरै परिवर्तन भएको छ । अघिल्लो निर्वाचनमा उनलाई विश्वास नगर्नेहरुले यो निर्वाचनमा विश्वास गर्नसक्ने संभावना देखिएको छ । यादवपछि विराटनगरका साझा उमेदवारकै रुपमा प्रस्तुत हुनसक्ने व्यक्ति भुराज राई मानिएको छ । राजनीतिक र शैक्षिक रुपमा समेत परिपक्क मानिनु भएका राई पूर्व जनप्रतिनिधि समेत हुन् । पार्टीले आफ्ना मतदातालाई होल्डमा राखेर राईको पक्षमा मत हाल्न लगाउने स्थिति आए उनले थप मत समेत तान्नसक्ने क्षमता राख्दछन् । विराटनगरका पूर्व उपमेयर राई २०३५ सालदेखि विद्यार्थी राजनीति सुरु गरेर अहिलेसम्म स्वच्छ छवी राख्न सफल सामाजिक तथा प्राज्ञिक व्यक्तित्व समेत हुन् ।

जसपाकै अर्का दावेदारको रुपमा केन्द्रीय सदस्य तेजलाल कर्णको नाम समेत चर्चामा छ । कर्ण पनि राजनीतिक रुपमा स्थापित व्यक्ति मानिन्छन् । माओवादी आन्दोलनमा जोडिएका कर्ण डा.बाबुराम भट्टराईले नयाँ पार्टी स्थापना गरेसँगै आवद्ध भएर जसपामा पुगेका हुन् । विराटनगरमा सामाजिक र व्यवसायीक जीवनमा उनी क्रियाशिल छन् ।
यस्तै अर्का केन्द्रीय सदस्य भरत दाहालले समेत मेयरको दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । दाहाल समेत २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा होमिएका व्यक्ति हुन् । २०५४ सालमा विराटनगर–५ को वडा अध्यक्षका उमेदवार दाहाल पराजित भएर पनि बोर्ड सदस्यमा नियुक्त भएका थिए । माले, एमाले हुँदै २०६२ सालमा माओवादी प्रवेश गरेका दाहाल समेत बाबुराम भट्टराईसँगै नयाँ शक्ति पार्टीमा आवद्ध भएका थिए । नयाँ शक्ति र जसपा एकताको क्रममा दाहाल केन्द्रीय सदस्य छन् ।

दाहालको पनि राजनीतिक पृष्ठभूमि राम्रो भएका कारण उनीपनि जसपा भित्र शसक्त उमेदवार मानिएका छन् । आधार संगठन बलियो रहेको जसपाले यस पटकको स्थानीय निर्वाचनमा अन्य केहि पार्टीसँग तालमेल र गठबन्धन गरेर निर्वाचनमा गए मेयरमा जित्नसक्ने आंकलन गरिन्छ । तर, उमेदवारका दाबेदारहरुबीच समझदारी कायम नरहे त्यसको असर निर्वाचनमा पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्