एसईई नसकिदैं विद्यार्थी खोज्न थाले विराटनगरका निजी विद्यालय, अभिभावक भन्छन्- छोरी माग्न आए झैं गर्छन्

एसईई नसकिदैं विद्यार्थी खोज्न थाले विराटनगरका निजी विद्यालय, अभिभावक भन्छन्- छोरी माग्न आए झैं गर्छन्

विराटनगर । विराटनगरका शैक्षिक संस्था सञ्चालकले कक्षा १० को परीक्षा नसकिदैं कक्षा ११ का लागि नयाँ विद्यार्थीको खोजी सुरु गरेका छन् । आगामी बैशाख ९ गतेदेखि एसईई परीक्षा सञ्चालन हुँदैछ । एसईई परीक्षा नसकिदैं विराटनगरका निजीस्तरका शैक्षिक संस्थाले मार्केटिङ सुरु गरेका हुन् ।

विराटनगरमा ‘स्कूल बेस प्लस टु र प्लस टु’ दुई प्रकारका माध्यमिक विद्यालय छन् । प्राथमिक कक्षादेखि नै कक्षा १२ सम्म पढाई हुने प्लस टु र अन्य विद्यालयमा एसईई उत्तिणर् गरेर ११ मा विद्यार्थी भर्ना गराउने प्लस टु गरि दुई प्रकारका छन् । विराटनगरमा केहि बाहेक स्कूल बेस प्लस टु कमजोर छन् । तल्लो तहका कक्षाहरुमा धेरै विद्यार्थी जम्मा गरेर पढाउने र नतिजा समेत उत्कृष्ट निकाल्ने प्लस टु लाई कक्षा ११ मा विद्यार्थीको संकट पर्ने गरेको छ । यस्ता विद्यालयले फागुनदेखि नै विद्यार्थी र अभिभावकलाई घर-घरमा पुगेर कन्भिस गर्न थालेका छन् ।

‘विवाहका लागि छोरी माग्न आए झैं गरिराछन्’ विराटनगरका एक अभिभावकले शैक्षिक संस्था सञ्चालकलाई इंगित गर्दै भने-आफैंले पढाएका विद्यार्थीलाई पठनपाठनबाटै सकारात्मक छाप दिनसक्नुपर्नेमा अभिभावकसँग आउँछन् । दशवर्षसम्म आफैंले पढाएका विद्यार्थीको मनस्थितिमा विद्यालय सञ्चालक र त्यहाँ कार्यरत शिक्षकहरुले सकारात्मक छाप छोड्न नसक्दा ‘स्कूल बेस प्लस टु’ लाई विद्यार्थी अभाव हुने गरेको छ । जसका कारण कक्षा १० मा अध्ययनरत विद्यार्थी र उनका अभिभावकसम्म पुगेर निरन्तरता दिन माग गर्ने क्रम बढेको हो ।

विराटनगरमा स्कूल बेस प्लस टु को संख्या २० भन्दा धेरै छ । प्लस टु मात्रै सञ्चालन गर्दै आएकाको संख्या कम छ । विराटनगरका स्कूल बेस प्लस टु मध्ये अरनिको, एभरेष्ट, कान्तिपुर, अर्किड राम्रो मानिन्छन् । त्यस बाहेक प्लस टु मात्रै रहेको मेरिल्याण्ड, शिक्षादिप, कोबास कलेजमा धेरै विद्यार्थीको आकर्षण रहेको छ । पछिल्लो वर्ष बिकेभिएममा समेत विद्यार्थीको संख्या बढ्दै गएको छ । बिकेभिएमका सञ्चालक रबिन दाहालले एसईईमा सामेल केहिले छोडेपनि बाँकी विद्यार्थीले निरन्तरता दिने गरेको बताउनुभयो । उहाँले ३०० जना क्षमता भएको कक्षा ११ मा दुई सिफ्टका लागि आवश्यक पर्ने विद्यार्थी भर्ना हुने गरेको बताउनुभयो ।

हिसानका प्रदेश १ अध्यक्ष ज्ञानबहादुर खड्काले आफ्नै विद्यार्थीलाई कक्षा १२ सम्म पढाउन भर्ना लिने प्लस टु हरुप्रतिको आकर्षणमा पछिल्लो समय सुधार हुँदै गएको बताउनुभयो । तर, अन्य विद्यालयबाट एसईई गरेपछि प्लस टु गर्ने विद्यार्थीको रोजाईमा भने प्लस टु मात्रै पढाउने विद्यालय पर्दै आएको खड्काको भनाई छ । राम्रो नतिजा निकाल्न सफल विद्यालयहरुमा सञ्चालित प्लस टु का विद्यार्थीको नतिजा भने एकाध बाहेक अहिलेसम्म कमजोर देखिएको छ । विराटनगरको एभरेष्ट स्कूलले चारवर्ष अगाडीदेखि कक्षा ११ र १२ को पढाई सुरु गरेर पनि नतिजा राम्रो निकालि सकेको छ । विगत दुईवर्ष यता कोरोनाको कारण परीक्षा प्रणालीमा फेरबदल आएकोले यकिन नतिजा बारे केहि भन्न अवस्था छैन । अनलाइन परीक्षा दिएका विद्यार्थीहरु शतप्रतिशत उत्तिणर् रहेका छन् । कोराेना अगाडीको स्थिति र यो वर्षको परीक्षाफलको स्थितिले कुन विद्यालयकोस्तर के छ भन्ने यकिन गर्ने धेरैको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्