म्यादी प्रहरीप्रतिको बढ्दो आकर्षणले देखाएको बरोजगारीको डरलाग्दो दृश्य

म्यादी प्रहरीप्रतिको बढ्दो आकर्षणले देखाएको बरोजगारीको डरलाग्दो दृश्य

विराटनगर । बढ्दो बेरोजगारी समस्याका कारण देशका लागि काम गर्ने रहर धेरैको हुन्छ । तर, कोही उमेर हदका कारण प्रहरीमा भर्ना हुन पाउँदैनन् भने कोही छनौटमा पर्दैनन् । उनीहरुका लागि निर्वाचन केन्द्रित म्यादी प्रहरी एउटा अवसर जस्तै हो । तर, संघीयता पश्चात मुलुकमा आमुल परिवर्तन आएको भन्दै डम्फु पिटनेहरुका लागि बेरोजगारी र अभावमा थलिएका युवाहरुको म्यादी प्रहरीको आकर्षणले मुलुकको वर्तमान अवस्था छताछुल्ल हुन्छ ।

आगामी बैशाख ३० गतेका लागि सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेसँगै युवाहरु हाल म्यादी प्रहरी भिड्न तछाडमछाड गरिरहेका छन् । यहाँ सबैको आ–आफ्नै कथा छ । कोही रहर त कोही बाध्यताले म्यादी प्रहरी भिड्ने प्रयासमा छन् । तर, ४० दिने म्यादी प्रहरीप्रति युवाहरुले बढ्दो आकर्षणले एकातर्फ उनीहरुको प्रहरी बन्ने सपना पुरा गर्दैछ भने अर्कोतर्फ मुलुकमा व्याप्त बेरोजगारीको डरलाग्दो दृश्य देखाईरहेको छ । ‘घरको समस्याले प्लस टु पछि पढाईलेखाई छोडनुपर्ने भयो । त्यसपछि अरु कतै रोजगारी पनि पाईएन्’ पथरीको हसन्दह बस्ने अनु धिमाल भन्छिन्, ‘रोजगारी नपाएपछि म्यादी भिडन आएकी हुँ ।’

बिहीबार जिल्ला प्रहरी कार्यालय छेउमा भेटिएकी मोरङको मिक्लाजुङकी बबिता भण्डारी भन्छिन्, ‘यसअघि आर्मीमा प्रयास गरेको थिए । तर, छनौटमा परिन् । छनौट नभएपछि हाल आफ्नो सपना पुरा गर्न म्यादीमा आवेदन दिएकी छु ।’

सरकारले आउँदो बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचनको मिति तय भएसँगै सुरक्षाका लागि चाहिने म्यादी प्रहरीमा मुलुकभरिबाट मागभन्दा बढी युवाहरुको आवेदन परेको छ । प्रदेश नं. १ को मोरङमा पनि मागभन्दा ३ गुणा बढीले म्यादीका लागि आवेदन दिएका छन् । २०७९ सालको निर्वाचनका निम्त्ति मोरङमा आवश्यक म्यादी प्रहरीहरुको स्वीकृत दरबन्दी ३ हजार ७ सय २७ हो । तर, बिहीबार बेलुकासम्म कुल ८ हजार ७ सय ७१ जनाले म्यादीका लागि आवेदन दिएको मोरङ प्रहरीले जनाएको छ । जसमा महिलाहरुको संख्या ६ हजार ७ सय ७ र पुरुषहरुको संख्या २ हजार ६४ रहेको मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

सरकारले निर्वाचनको मिति टुङ्गो लगाएसँगै म्यादी प्रहरी भर्नाका लागि सम्बन्धित निकायले पनि आ–आफ्नो तयारी थालेका छन् । आवेदकहरु मध्येबाट म्यादी प्रहरी छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा ६ सदस्यीय म्यादी छनौट तथा नियुक्ति समिति गठन गरिएको छ । समितिले चैत्र १५ देखि २२ गतेसम्म म्यादी प्रहरी छनौट गरि अन्तिम नामावली प्रकाशन गर्नेछ । म्यादी प्रहरीका लागि छनौटमा परेकाहरुलाई चैत्र २८ गतदेखि १० दिने प्रशिक्षण प्रदान गरिने र छनौटमा परेकाहरु मध्येबाट २० प्रतिशतलाई वैकल्पिकमा राख्ने तयारी समेत रहेको मोरङका प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

म्यादी प्रहरीलाई भने नेपाल प्रहरीको जवान सरह आधारभूत मासिक तलब रु. २२,६८० दिने सरकारको निर्णय छ । निर्णयानुसार उनीहरुलाई खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ठ रु. ७,२०० र पोशाक तथा अन्य सामान खरिदका लागि प्रतिव्यक्ति रु. ६००० का दरले रकम उपलब्ध गराईने छ । निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी एक पटकको लागि रु. १००० का दरले तयारी खर्च समेत उपलब्ध गराईने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्