गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनालाई

गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनालाई

विराटनगर । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ ।

नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशलाई ७-१ गोलअन्तरमा पराजित गर्दै उपाधि जितेको हो । नेपाली सेनाका राजेन्द्र कार्की, सुमितकुमार कामी र रोमन राना मगरले समान २-२ गोल गरे भने प्रदीप राजवंशीले थप एक गोल गर्दै टोलीलाई उपाधि जिताए । सुदूरपश्चिम प्रदेशका केशवराज जोशीले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच सेनाका सुमितकुमार कामी भए ।
त्यस्तै शनिबारै तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ५-० गोलअन्तरमा पराजित गरेको छ । गण्डकीका अशिम ठकुरीले ४ गोल र पिताम्बर थापाले १ गोल गरे । खेलको म्याद अफ द म्याच गण्डकीका अशिम ठकुरी भए ।

प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता नेपाली सेनाले नगद ७५ हजार र ट्रफी प्राप्त गरे भने उपविजेताले सुदूरपश्चिम प्रदेशले ४१ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै तेस्रो हुने गण्डकी प्रदेशले नगद २१ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृट खेलाडी सेनाका सुमितकुमार कामी, सर्वाधिक गोलकर्ता सेनाका रोमन राना मगर, उत्कृष्ट गोलरक्षक सेनाका पुरन ओली, उदयमान खेलाडी लुम्बिनीका अथनान अन्सारी र उत्कृष्ट डिफेन्डर सुदूरपश्चिमका केशवराज जोशी घोषित भए । उनीहरुले समान ५-५ हजार रुपैयाँ प्राप्त गरे ।

खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, नेपाल हक्की संघ मोरङका अध्यक्ष राजेश गुप्तालागयतले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्