द्रुत गतिमा निमार्ण हुँदै तेह्रथुमको वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको मध्यपहाडी लोकमार्ग

द्रुत गतिमा निमार्ण हुँदै तेह्रथुमको वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको मध्यपहाडी लोकमार्ग

वसन्तपुर (तेह्रथुम) । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तेह्रथुमको वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको मध्यपहाडी लोकमार्गमा जारी सडक विस्तारको कार्यले गति लिएको छ ।

करिब १ हजार ८ सय ७९ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तगर्त पुर्वी खण्डमा हाल सडक विस्तारको कार्यले गति लिएको हो । अहिले वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्म ३ खण्डमा सडक कालोपत्रे गर्ने कार्य भईरहेको छ । जसमा वसन्तपुरदेखि लसुनेसम्मको १० किलोमिटर सडकमा कालोपत्रेको कार्य सम्पन्न भईसकेको छ । बाँकी खण्डहरुमा धमाधम काम भईरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय पाँचथरका सब–इन्जिनियर विवश अधिकारीले बताए । उनले काँडेदेखि जिरिखिम्तीसम्मको ५ किलोमिटर पनि कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार जिरिखिम्तीदेखि तेह्रथुम सदरमुकाम म्याङ्लुङसम्मको खण्डमा पनि निमार्ण कार्य धमाधम भईरहेको छ । उनले भने, ‘यस सडकखण्डमा २ वर्ष अघिसम्म यात्रा गर्न अत्यन्तै असहज थियो । सडक विस्तारको काम अघि बढेपछि केही सहजता थपिएको छ । हामीले सडक मर्मतको कार्य पनि गरिरहेका छौं ।’

पाँचथरको चिवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म निर्माणाधिन मध्यपहाडी लोकमार्गको दुरावस्थाका कारण पछिल्लो समय स्थानीय र यात्रुहरुले निकै हैरानी झेल्दै आएका थिए । तर, निमार्ण कार्यले गति लिएपछि हाल अवस्था फेरिएको स्थानीय भरत लिम्बुले बताए । उनले सडक कालोपत्रे भएपछि औषधी/उपचार, मालसामान ढुवानी र आवागमनमा निकै सहजता थपिएको जानकारी दिए ।

नेपालका पहाडी जिल्लाहरुमा सहज आवागमनको लक्ष्य सहित सरकारले मध्यपहाडी लोकमार्गको विस्तारको अवधारणा ल्याएको थियो । मध्यपहाडी लोकमार्गले अधिकांश पहाडी जिल्ला, तिनका सदरमुकाम र प्रमुख शहरहरुलाई छुने भएकाले आवतजावत तथा मालसामान ढुवानी सहजता ल्याउन यो लोकमार्गलाई महत्वका साथ हेरिएको हो ।

जसमा लोकमार्गले छुने पाँचथरको फिदिम, तेह्रथुमका वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकमकर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनलाई अत्याधुनिक शहरको रुपमा विकास गर्ने सरकारी योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्