षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार–२०७८ पत्रकारद्वय बुढाथोकी र साहलाई

षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार–२०७८ पत्रकारद्वय बुढाथोकी र साहलाई

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले षष्टिका बस्नेत सुचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ पत्रकारद्वय गजेन्द्र बुढाथोकी र देवनारायण साहलाई प्रदान गरेको छ ।

बुधबार नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले उनीहरुलाई सो पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुने बुढाथोकी उदयपुरस्थित टक्सार म्यागेजीनका प्रधान सम्पादक र साह कान्तिपुर दैनिकका मोरङ जिल्ला संवाददाता हुन् । उनीहरुलाई क्रमशः ५० हजार ५१ र १५ हजार ५१ रुपैयाँको नगद राशी सहित पुरस्कृत गरिएको हो । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारी र यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरेले उनीहरुलाई दोसल्ला ओढाएर नगद र प्रमाण–पत्र सहित पुरस्कृत गरेका हुन् ।

विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले आफ्नो धर्मपत्नीको स्मृतिमा खडा गरेको ७ लाख रकमको अक्षयकोष खडा गरेका थिए । सोही अक्षय कोषको रकमको ब्याजबाट प्रत्येक वर्ष सुचनाको अधिकार क्षेत्रमा काम गर्ने अभियान्ता तथा पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ । यसअघि सुचनाको अधिकार पुरस्कारबाट पत्रकार महासंघको पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, शिव गाउँले, तारानाथ दाहाल र पाल्पा जिल्लाका पुराना पत्रकार स्वर्गीय विनयकुमार कसजु पुरस्कृत भईसकेका छन् ।

यस्तै सुचनाको अधिकार प्रोत्साहन पुुरस्कार पनि यसअघि झापाबाट प्रकाशित हुने जनसंसद दैनिकका सम्पादक मोहनकाजी न्यौपाने, नयाँ पत्रिका दैनिकका प्रदेश ब्यूरो प्रमुख गणेश लम्साल र मोरङ जिल्लामा रही सुचनाको हकको अभियानमा सक्रिय राजु श्रेष्ठलाई प्रदान गरिसकिएको छ । सुचनाको अधिकार पुरस्कार विक्रम सम्वत २०७३ र प्रोत्साहन पुरस्कार २०७४ सालमा स्थापना भई प्रदान गरिदै आईएको छ ।

यस्तै बुधबार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले आफ्नो आधिकारिक बेवसाईट समेत शुभारम्भ गरेको छ । प्रदेश सरकार यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बटन थिचेर बेवसाईटको शुभारम्भ गरेका हुन् । मोरङको सम्पुर्ण गतिविधिहरुलाई पारदर्शी बनाउन बेवसाईट निर्माण गरिएको जनाईएको छ । वेबसाईट निर्माणका लागि मोरङ शाखाको सह–सचिव अनिल श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको थियो । समितिमा भने शाखाका सह–सचिव पर्शुराम निरौला, कार्यसमिति सदस्य राकेश कर्ण र सशांक पौडेल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्