स्वदेशी उद्योगको संरक्षणका निम्त्ति विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ अन्त्य गर्न माग

स्वदेशी उद्योगको संरक्षणका निम्त्ति विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ अन्त्य गर्न माग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले स्वदेशी उद्योगको संरक्षणका निम्त्ति विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ अन्त्य गर्न माग गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले अघोषित लोडेसेडिङका कारण उद्योगधन्दा तथा कलकारखानाहरु धरासायी हुने अवस्थामा पुगेको भन्दै लोडसेडिङ अबिलम्ब खारेज गर्न माग गरेको हो । विद्युत प्राधिकरणबाट उद्योग क्षेत्रमा गरिएको लोडसेडिङका कारण महङ्गो डिजलबाट उद्योगहरु सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको महासंघले जनाएको छ । महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डिजेलबाट उद्योग सञ्चालन गर्न उत्पादन लागत बढ्न गई स्वदेशी उद्योगहरुले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । जसकारण उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।’

बैंकिङ्ग तरलता, कर्जाको ब्याज दरमा वृद्धि र बैङ्कबाट ऋण प्रवाह नहुनु लगायतका कारणले उद्योगी व्यवसायीहरु संकटमा परिरहेको अवस्थामा हाल आएर रुस र युक्रेनको युद्धबाट देशको अर्थतन्त्र झन संकटमा पर्न गएको महासंघले जनाएको छ । महासंघका अनुसार पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ लगायतमा समेत अत्यधिक मूल्य वृद्धि हुन जाँदा उद्योगी व्यावसायी लगायत आमवर्ग समेत त्रसित भएका छन् ।

यस्तो अवस्थामा नेपाल विद्युत प्राधिकरणले भारतबाट खरिद गरेको विद्युत आपूर्ति गर्न महङ्गो हुने र प्राधिकरण नोक्सानीमा जाने कारण देखाई औद्योगिक क्षेत्रको विद्युतमा १२ घण्टाको अघोषित लोडसेडिङ गरेपछि उद्योगहरुमाथि झन ठूलो बज्रपात हुन गएको महासंघको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्