‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा

‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा

विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा आयोजना हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा भएको छ ।

चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुन लागेको एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको हो । बिहीबार मोरङ व्यापार संघमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । आयोजक समितिका अनुसार शुक्रबार बिहान ११ बजे एक्स्पोको उद्घाटन हुनेछ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेल एक्स्पोको उद्घाटन गर्नेछन् ।

बिशेष आर्कषण सहित आयोजना हुन लागेको एक्स्पो विगतका वर्षहरुभन्दा फरक हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार यसपटकको एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनहरु सहित लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब र सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाको आकर्षण समेत थपिएको छ । फोटो खिच्न मन पराउनेहरुका लागि सेल्फी जोन र साहसिक खेल मन पराउनेहरुका लागि जीप लाइन, रिभर्स बन्जी र जिप साइक्लिनिङ्गको प्रबन्ध पनि मिलाईएको छ ।

कुल ९ दिन चल्ने एक्स्पोमा नेपाल सँगसँगै भारत, बङगलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री वितरण हुनेछन् । एक्स्पोमा कृषि, पर्यटन, सुचना प्रविद्यि, अटोमोबाईल्स, बाल उद्यान र खानाका विभिन्न परिकार सँगसँगै नियमित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने जनाईएको छ । एक्स्पोबाट स्वदेशी उत्पादन तथा प्रविधि प्रर्वद्धन, व्यावसायिक उत्पादनमा जोड, उत्पादक तथा उपभोक्ता बिच सम्बन्ध विस्तार र पर्यटन प्रर्वद्धन तथा लगानी मैत्री वातावरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्वदेशी र विदेशी उत्पादन समेटने गरि कुल २७० स्टलहरु रहने एक्स्पो २ लाख बढी उपभोक्ताहरुले अवलोकन गर्ने व्यापार संघले जनाएको छ । संघका अनुसार एक्स्पोबाट ४० करोडको बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । एक्स्पोको प्रवेश शुल्क भने १०० रुपैयाँ तोकिएको छ । विद्यार्थीहरुका लागि भने बिशेष छुटको व्यवस्था गरिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्