विराटनगर । बैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा मोरङका लागि आवश्यक म्यादी प्रहरी छनौटका निम्त्ति लिखित परीक्षा सुरु भएको छ ।
स्थानीय तहको निर्वाचन अन्र्तगत मोरङ जिल्लाका लागि आवश्यक म्यादी प्रहरी छनौट गर्न शनिबार लिखित परीक्षाको प्रक्रिया अघि बढाईएको हो । शारिरीक स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया पुरा गरेपछि १० हजार १३४ जना मध्येबाट छनौट भई आएका कुल ६ हजार ३ सय ७१ जना हाल परीक्षामा सहभागी छन् । विराटनगरस्थित सहिद रंगशालामा उनीहरुको लिखित परीक्षा भईरहेको छ ।
२०७९ सालको निर्वाचनका निम्त्ति मोरङमा आवश्यक म्यादी प्रहरीहरुको स्वीकृत दरबन्दी ३ हजार ७ सय २७ हो । तर, गएको शुक्रबारसम्म माग भन्दा तेब्बर अर्थात् १० हजार १३४ जनाले म्यादीका लागि आवेदन दिएका थिए । आवेदकहरुको चरणबद्ध परीक्षा पश्चात छनौट भई आएकाहरुको हाल लिखित परीक्षा भईरहेको छ ।
आवेदकहरु मध्येबाट म्यादी प्रहरी छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा ६ सदस्यीय म्यादी छनौट तथा नियुक्ति समिति गठन गरिएको छ । समितिले चैत्र १५ देखि २२ गतेसम्म म्यादी प्रहरी छनौट गरि अन्तिम नामावली प्रकाशन गर्नेछ । म्यादी प्रहरीका लागि छनौटमा परेकाहरुलाई चैत्र २८ गतदेखि १० दिने प्रशिक्षण प्रदान गरिने र छनौटमा परेकाहरु मध्येबाट २० प्रतिशतलाई वैकल्पिकमा राख्ने तयारी समेत रहेको मोरङका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताएका छन् ।
म्यादी प्रहरीलाई भने नेपाल प्रहरीको जवान सरह आधारभूत मासिक तलब रु. २२,६८० दिने सरकारको निर्णय छ । निर्णयानुसार उनीहरुलाई खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ठ रु. ७,२०० र पोशाक तथा अन्य सामान खरिदका लागि प्रतिव्यक्ति रु. ६००० का दरले रकम उपलब्ध गराईने छ । निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी एक पटकको लागि रु. १००० का दरले तयारी खर्च समेत उपलब्ध गराईने जनाईएको छ ।