विराटनगर । नेपाल आयाल निगम र पेट्रोलियम व्यवसायी तथा ढुवानी व्यवसायीबीच सहमति भएपनि विराटनगरमा सवारी इन्धनको अझै अभाव देखिएको छ । बजारमा डिजेलको अभाव कम हुँदै गएपनि पेट्रोलको अझै अभाव खड्किएको हो । विराटनगरमा मंगलबार पनि बिहानैदेखि पेट्रोलपम्ममा सवारीको लाइन देखिएको छ ।
नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरले आइतबार १३ लाख ५० हजार लिटर डिजेल बजारमा पठाएको थियो । व्यवसायीले खरिद नगरेपछि शुक्रबार इन्धन बिक्री नगरेको निगमले आइतबार ठूलो परिमाणमा डिजेल बजारमा पठाईसकेको छ ।
आन्दोलनरत पक्षसँग सहमति भएसँगै आइतबार बिहानैबाट इन्धन लोड भएको थियो । मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर र प्रदेश २ का सिरहा र सप्तरीमा १३ लाख ५० हजार लिटर डिजेल आइतबार पठाएको निगमका प्रादेशिक कार्यालय प्रमुख अशोककुमार साहले जानकारी दिनुभयो ।
बजारमा पर्याप्त मात्रामा डिजेल उपलब्ध हुने भएपनि माग अनुसार पेट्रोल उपलब्ध गराउन सकेको छैन । भारतको सिलिगुढीबाट थोरै पेट्रोल गाडीमात्र लोड भएर आएका कारण आइतबार निगमको विराटनगर स्थित डिपोले व्यवसायीहरुलाई २ लाख ४० हजार लिटर मात्र बिक्री गरेको थियो ।
ढुवानी व्यवसायीहरुले चैत १६ गतेदेखि नै पिडिओ (पर्चेज अर्डर डेलिभरी) नलिइदिएका कारण त्यसको प्रभाव अहिले परिरहेको छ । सिलिगुडीमा गाडीहरु लोड हुन नपाएका कारण आवश्यक पेट्रोलको अभाव भएको छ ।
आइतबार भारतमा बिदा भएको कारण भारतीय आयल कर्पोरेशनले पेट्रोल लोड गरिदिएन । निगमको विराटनगर स्थित डिपोबाट सहज अवस्थामा दैनिक ४ लाख ५० हजार लिटर पेट्रोल बिक्री हुँदै आएको थियो । व्यवसायीहरुले आइतबार करिव ८ लाख लिटर माग गरेका थिए । तर, निगमले २ लाख ४० हजार लिटर मात्रै पेट्रोल उपलब्ध गराएको थियो ।
निगमले आइतबार सुनसरीमा ३, सिरहा, सप्तरी र उदयपुरमा १÷१, भोजपुर र संखुवासभाका लागि १ गाडी पेट्रोल उपलब्ध गराएको थियो । मोरङ जिल्लामा आइतबार १ लाख २० हजार लिटर पेट्रोल वितरण गरिएको थियो ।
सोमबार सिलिगुडीबाट पेट्रोल लोड भएर आएका गाडीका कारण मंगलबार (आज) बाट भने पेट्रोल अभाव नहुने बताइएको छ । तर, आज बिहान पनि विराटनगरका पेट्रोलपम्पमा पेट्रोल भर्नेको लाइन भने उस्तै रहेको थियो । निगमले नआत्तिन आग्रह गर्दै बजारमा इन्धनको पूर्ण अभाव हुन नदिने विश्वास व्यक्त गरेको छ ।