‘प्रथम टी–२० मेयर कप’ क्रिकेट प्रतियोगिता : आजको पहिलो खेल विरगञ्ज र मेची नगरपालिका बिच हुँदै

‘प्रथम टी–२० मेयर कप’ क्रिकेट प्रतियोगिता : आजको पहिलो खेल विरगञ्ज र मेची नगरपालिका बिच हुँदै

विराटनगर । मोरङको विराटनगरमा मङ्गलबारदेखि ‘प्रथम टी–२० मेयर कप’ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

विराटनगर महानगरपालिकाको आयोजनामा वडा नं. १९ स्थित बैजनाथपुर खेल मैदानमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । होराईजन क्रिकेट क्लबको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको पहिलो उद्घाटन खेल आयोजक विराटनगर महानगरपालिका र मेची नगरपालिका तथा दोश्रो खेल विरगञ्ज उप–महानगरपालिका र राजविराज नगरपालिका बिच भएको छ । मङ्गलबार भएको पहिलो चरणको खेलमा आयोजक विराटनगर र राजविराज नगरपालिकाले विजयी हात पारेका छन् ।

मङ्गलबारको पहिलो खेलमा आयोजक विराटनगरले झापाको मेची नगरपालिकालाई ३६ रनले पराजित गरेको छ भने दोस्रो खेलमा राजविराजले सुनसरीको इनरुवालाई ७६ रनले पराजित गरेको छ । मङ्गलबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको सामान्य योगफल खडा गरेको थियो । विराटनगरका लागि सर्वाधिक लव कामत ५७ रनमा अविजित रहे । उनले ५६ बलमा ४ चौका प्रहार गरे । यस्तै साकिव हकले १७ रन बनाउँदा मिनस थापाले १५ रन जोडे । झापाका प्रेम सिंह र विशाल आर्चायले २–२ विकेट लिँदा सुमिरन राई र विराज डाँगीले १–१ विकेट लिए ।

१ सय २३ रनको सामान्य लक्ष पाएको झापाले १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित भयो । झापाका लागि अनिल लामिछानेले ३२ रन जोड्दा अंकित सुवेदीले १६ बनाए । विराटनगरका म्यान अफ द म्याच कप्तान सिद्धान्त लोहनीले ४ विकेट लिए । उनले एक मेडन राख्दै १३ रन दिए । लोहनी बाहेक दिपेश कँडेलले ३ विकेट तथा मुकुन्द यादवले २ विकेट लिँदा रेवती यादवले १ विकेट लिए ।

यस्तै दोस्रो खेलमा राजविराजले सुनसरीको इनरुवालाई ७६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रनको बनाएको थियोे । राजविराजका लागि रोहन विकले ३९ रन बनाउँदा निरज यादवले ३० रन र विशाल दासले २० रनको योगदान दिए । रोहनले २५ बलमा १ छक्का र ६ चौका प्रहार गरे । इनरुवाका सोनु मण्डलले ३ विकेट पलँदा भुपाल लुइटेल र गौरव कटुवालले १–१ विकेट लिए ।

१ सय २१ रनको लक्ष्य पाएको इनरुवाले ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ५३ रनमा सिमित भयो । इनरुवाका लागि सोनु मण्डलले सर्वाधिक ९ रन बनाए । राजविराजका म्यान अफ द म्याच अनिल यादवले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ५ विकेट लिँदा मेहबुव आलम र अजय यादवले २–२ विकेट लिए ।

आज बुधबारको पहिलो खेल भने विरगञ्ज उप–महानगरपालिका र मेची नगरपालिकाबिच भईरहेको छ भने दोश्रो खेल इनरुवा र जनकपुरबिच हुने जनाईएको छ । प्रतियोगितामा प्रदेश नं. १ र मधेश प्रदेशका कुल ६ स्थानीय तहका टीमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रदेश नं. १ बाट आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मधेश प्रदेशबाट विरगञ्ज उप–महानगरपालिका, जनकपुरधाम उप–महानगरपालिका र राजविराज नगरपालिकाले सहभागिता जनाएका छन् ।

६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको आधारमा प्रतियोगिताको आयोजना गरिएको मोरङ क्रिकेट संघले जानकारी दिएको छ । संघका अनुसार प्रतियोगिताको विजेता तथा उप–विजेताले क्रमशः १ लाख १ हजार तथा ५१ रुपैयाँको नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछन् । चैत्र २६ गतेसम्म चल्ने प्रतियोगिता सम्पन्न हुन भने करिब १३ लाख खर्च हुने अनुमान आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्