‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ : पहिलो खेलमा जहदा–४ विजयी

‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ : पहिलो खेलमा जहदा–४ विजयी

विराटनगर । मोरङको जहदा गाउँपालिकामा शनिबारदेखि सुरु भएको ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को पहिलो खेल जहदा–४ ले जितेको छ ।

जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–४ ले जहदा–७ को टीमलाई पराजित गरेको हो । लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित चौथो संस्करणको क्रिकेट टुर्नामेन्टको आज (शनिबार) भएको पहिलो खेलमा जहदा–४ ले जहदा–७ लाई ३६ रनले पराजित गरेको हो ।

जहदा–७ लाई पराजित गर्दै पहिलो खेलको विजेता बनेको जहदा–४ समुह ‘क’ को टीम होे । शनिबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको जहदा–४ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको स्कोर खडा गरेको थियो । जहदा–४ का लागि ‘म्यान अफ द म्याच’ निरज गौतमले ७ बलमा एक छक्का प्रहार गरि ९ रन बनाउँदा रविशंकर मण्डलले ७ ओभर ४ बलमा ५२ रनको योगदान दिएका थिए । जहदा–४ का लागि गौतमले ४ विकेट लिँदा अमोद मण्डलले २ र रविन मण्डलले ४ विकेट लिएका थिए ।

१५० रनको लक्ष्य पाएको जहदा–७ को टीम १९ औं ओभरमा सबै विकेट गुमाई ११३ रनमा सिमित भएको थियो । जहदा–७ का लागि खेलाडी अरविन्द मण्डलले ३ ओभर २ बलमा २६ रन बनाउँदा अमित मण्डलले सर्वाधिक २ ओभर ४ बलमा ३१ रनको योगदान दिएका थिए । जहदा–७ का लागि राकेश राजभरले ५ विकेट लिँदा अभय साह ३ विकेट लिए ।

लिगकम नकआउटको आधारमा बैशाख ३ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टको दोश्रो खेल चैत्र २७ गते आईतबार जहदा–१ र जहदा–५ बिच हुने आयोजक संस्थाले जनाएको छ । संस्थाका अनुसार जहदामा जारी टुर्नामेन्टमा आयोजक लक्ष्मिनिया युवा क्लबका साथै गाउँपालिकाका ७ वटै वडाको सहभागिता रहेको छ । टुर्नामेन्टको फाईनल खेल बैशाख ३ गते हुने संस्थाका सचिव अभिषेक कुमार साहले बताए । उनले खेलको विजेता तथा उप–विजेताले क्रमशः ३१ हजार र २१ हजार रुपैयाँको नगद पुरस्कार सहित मेडल, प्रमाण–पत्र र रनिङ शिल्ड प्राप्त गर्ने जानकारी दिए ।

शनिबार भएको पहिलो खेलको उद्घाटन भने प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादव र जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्