मोरङबाट दुई डिएसपी सहित ११ प्रहरी निरीक्षकको सरुवा : मोरङ ट्राफिक प्रहरी प्रमुखमा कार्की

मोरङबाट दुई डिएसपी सहित ११ प्रहरी निरीक्षकको सरुवा : मोरङ ट्राफिक प्रहरी प्रमुखमा कार्की

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट दुई डिएसपी सहित ११ जना प्रहरी निरीक्षकको एकैपटक सरूवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको चैत्र २५ गतेको आदेशानुसार एक वर्षे कार्यकाल पूरा गरेका इलाका प्रहरी प्रमुखहरुको सरुवा भएको हो । मोरङमा ‘क’ श्रेणीका कुल ७ वटा इलाका प्रहरी कार्र्यालयमध्ये एउटामा डिएसपी र बाँकी ६ वटामा इन्स्पेक्टरको नेतृत्व छ । मोरङको उर्लाबारी, रानी, बेलबारी, रङ्गेली, लेटाङ र सिजुवामा इन्स्पेक्टरको नेतृत्व छ भने पथरीमा डिएसपीको नेतृत्व छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि इन्स्पेक्टरकै नेतृत्वमा छ । प्रहरी प्रधान कार्यालयको आदेशानुसार अहिले सरुवामा परेका इन्स्पेक्टर गत वर्षको चैत २७ गते विभिन्न प्रहरी युनिट इञ्चार्जको रूपमा सरुवा भएर मोरङ आएका हुन् ।

प्रहरी प्रधान कार्यालयको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारुङको सरुवा भएको छ । उनको ठाउँमा हाल डिएसपी राजन कार्की आएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खड्का पनि विराटनगरस्थित १ नम्बर प्रदेश कार्यालय सरुवा भएका छन् । खड्काको ठाउँमा प्रहरी निरीक्षक राजकुमार कार्की आएका छन् ।

यस्तै इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौं सरुवा भएको छ । उनको स्थानमा डिएसपी वेदप्रसाद गौतम आएका छन् । डिएसपी गौतमले यसअघि विराटनगरस्थित वडा प्रहरी कार्यालय ‘क’ मा रहेको नेतृत्व गरिसकेका छन् ।

यसबाहेक इलाका प्रहरी कार्र्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक राजाराम खड्काको जिल्ला प्रहरी कार्यालय बाग्लुङ, रानीका प्रकाश राउतको जिल्ला प्रहरी कार्यालय पर्वत र बेलबारीका सरोज खनालको जिल्ला प्रहरी कार्यालय संखुवासभामा सरुवा भएको छ । यस्तै रङ्गेलीबाट प्रहरी निरीक्षक अनमोल खड्काको प्रहरी प्रधान कार्यालय, लेटाङबाट रोमनराज अर्यालको जिल्ला प्रहरी कार्यालय खोटाङ र सिजुवाबाट विष्णुबहादुर खड्काको इलाका प्रहरी कार्यालय इटहरी सरुवा भएको छ । मोरङ प्रहरीकी महिला सेलकी इन्स्पेक्टर एल्जिना राईको पनि चितवन सरुवा भएको छ ।

उनीहरुको ठाउँमा उर्लाबारीमा मिलन थापा, रानीमा महेन्द्र दर्नाल, बेलबारीमा खगेन्द्र धमला, रङ्गेलीमा शैलेश न्यौपाने, लेटाङमा विकास थपलिया र सिजुवामा निलम प्रसाद उप्रेती प्रहरी प्रमुख भएर आएका छन् । उर्लाबारी सरुवा भएका प्रहरी निरीक्षक थापा यसअघि जिल्ला प्रहरी कार्यालय मोरङकै अपराध अनुसन्धान शाखामा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्