स्थानीय निर्वाचन : मोरङमा तालमेलको खाका कोर्दै गठबन्धन

स्थानीय निर्वाचन : मोरङमा तालमेलको खाका कोर्दै गठबन्धन

विराटनगर । बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा तालमेलको खाका तयार पार्न सत्तारुढ गठबन्धनले प्रक्रिया अघि बढाएको छ ।

प्रदेश नं. १ को मोरङमा तालमेल गरेरै जाने निष्कर्ष सहित गठबन्धनका दलहरुले तालमेलका लागि प्रारम्भिक प्रक्रिया अघि बढाएका हुन् । वर्तमान पाँच दलीय गठबन्धनलाई नै आउँदो निर्वाचनमा पनि निरन्तरता प्रदान गर्ने लक्ष्यसहित कार्यदल गठन गरि निर्वाचन केन्द्रित रेखाङ्कन सुरु गरिएको जनाईएको छ । मोरङका स्थानीय तहहरुमा राजनैतिक दलहरुको अवस्था अध्ययन र सुझावका निम्त्ति कार्यदल गठन गरि तालमेलको प्रक्रिया सुरु गरिएको नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले बताए । उनले सम्मानजनक गठबन्धनका निम्त्ति कार्यदल गठन गरि अवस्था बिश्लेषणकोे जिम्मेवारी प्रदान गरिएको जानकारी दिए । उनले भने, ‘कार्यदलबाट प्राप्त निष्कर्ष र आवश्यक सुझावकोे आधारमा मोरङ जिल्लाको हकमा आउँदो निर्वाचनको रुपरेखा तयार हुन्छ । हामी त्यही अनुसार आ–आफ्नो रणनीति बनाएर अघि बढछौं ।’

पालिकाको अवस्था अध्ययनका निम्त्ति सत्तारुढ गठबन्धनको बुधबार बसेको बैठकले नेकपा माओवादी केन्द्रका मोरङ जिल्ला संयोजक विजय कुमार विश्वास, नेपाली काँग्रेसका जिल्ला उप–सभापति भक्तिनाथ माझी, नेकपा (एकीकृत समाजवादी) का डा. उद्धव पोखरेल र जसपाका जिल्ला अध्यक्ष राजकुमार यादव सम्मिलित कार्यदल गठन गरेको थियो । कार्यदलले २ दिनभित्र जिल्लाका १७ वटै स्थानीय तहको अवस्थाबारे रिपोर्ट तयार पार्ने र त्यसका आधारमा पालिका विभाजनको सुझाव दिने कार्यादेश पाएको थियो । कार्यदलले आज (शुक्रबार) आफ्नो सुझाव सहितकोे अध्ययन प्रतिवेदन पेश गर्दैछ ।

कार्यदलबाट प्राप्त रिपोर्ट बारेमा दलहरुबिच पुनः एकपटक छलफल भएपछि माथिल्लो समितिमा सिफारिश गर्ने तयारी रहेको नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति लिम्बुले बताए । प्र्रदेश नं. १ को राजधानी विराटनगरको हकमा भने कांग्रेस एक्लैले पनि चुनाव जित्नसक्ने उनले जानकारी दिए । ‘गठबन्धनलाई निरन्तरता दिने प्रयासमा हामी छौं । ५ दलीय मात्र नभई ७ दलीय गठबन्धन निमार्ण हुने अवस्था छ भनेपनि हामी पछि हटदैनौं । त्यसका लागि ढोका खुल्ला छ,’ उनले भने, ‘तर, कुनै कारणवश भोेलिका दिनमा तालमेल गरेर जानसक्ने अवस्था रहेन भनेपनि विराटनगरमा हामी सजिलै जित्छौं । हाम्रो पकड राम्रो छ ।’

नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरका लागि हाल दीपक चापागाईं, भीम पराजुली, नागेश कोईराला, अमृत अर्याल र डिला संग्रौला लगायतका नेताहरुको नाम चर्चामा छ । नेकपा माओवादीबाट भोेगेन्द्र यादव र नमिता न्यौपाने तथा जसपाबाट अमरेन्द्र यादव, जयराम यादव, उमेश यादव, भुराज राई, भरत दाहाल र तेजलाल कर्ण मेयरको दौडमा छन् । यता नेकपा एमालेबाट रामलाल साह, बावुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम अघिल्लो हप्ता सिफारिश नै भईसकेको छ । मेयरको टिकटको अन्तिम टुङ्गो भने केन्द्रिय कमिटीले लगाउने बताईएको छ ।

महानगर प्र्रमुखको टिकट जसले पाएपनि मुलभुत रुपमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग हुने एमाले मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले बताए । आउँदो स्थानीय तहको निर्वाचनमा माओवादी र एकीकृत समाजवादी बाहेकका दलहरुसँग चुनावी तालमेलको सम्भावना रहेको भन्दै अध्यक्ष पोखरेलले एमालेको कार्ययोजना र दृष्टिकोण नै जित्ने प्रमुख आधार रहेको जानकारी दिए । ‘विराटनगर एमालेको गढ हो । पछिल्ला परिस्थितिहरुमा कतिपय अवस्थाहरुमा हामीबिच एकता भएन, पार्टीमा अन्तरविरोध सिर्जना भए । हाम्रो त्यही विवादले कांग्रेसले जितेको हो,’ उनले भने, ‘हामी एक हुने बित्तिकै हामी चुनाव जित्छौं । यसपटक त हामीलाई झन सजिलो छ । हाम्रा विरोधीहरु सबै एकसाईड छन् ।’

प्रदेश नं. १ को एकमात्र महानगरपालिकाको चुनाव जित्न जति कठिन एमालेलाई छ, त्यति नै कठिन चुनावी तालमेल मिलाउन गठबन्धनका अन्य दलहरुलाई पनि छ । विराटनगरको मेयरमा जसपाको दाबी, जसपाको प्रभाव र २०७४ सालको मतपरिणामका कारण गठबन्धनमा जसपालाई बायकट गरेर जानसक्ने अवस्था छैन् । जसपा पनि मेयरको दाबीबाट पछि हट्ने अवस्थामा छैन् । गठबन्धनबिच तालमेलको वातावरण सिर्जना हुन नसके जसपा एक्लैपनि चुनाव लड्न तयार रहेको जसपाका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले बताए । ‘हामी सकेसम्म गठबन्धन गरेर सर्वसम्मतिमै अघि बढ्ने रणनीतिमा छौं । तर, त्यो अवस्था बन्न सकेन भने हामी कसैलाई पर्खिदैनौं । हामी एक्लै लड्छौं,’ उनले भने, ‘विगतमा पनि हामीलाई राम्रै भोट आएको हो । २०७४ सालको निर्वाचनमा ११ वडामा हाम्रो उम्मेदवारी हुँदा हामीले ६ वडा जितेका थियौं । अहिले त अवस्था पनि फेरिएको छ । हाम्रो प्रभाव र पकड पनि बलियो भएको छ । यसपटक १९ वटै वडामा हाम्रो उम्मेदवारी रहन्छ । यसपटक मेयरको उम्मेदवारीबाट भने पछि हटिदैन् ।’

२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले ७ वटा वडा जित्दा जसपाले ६ वडा जितेको थियो । कांग्रेसले जितेका अधिकांश वडामा प्रमुख प्रतिस्पर्धी जसपा नै थियो । प्राविधिक कारणले धेरै मत बदर भएपछि त्यसबेला जसपाले पराजय व्यहोर्नुपरेको थियो । यसपटक जसपाले विरगञ्ज र विराटनगरको मेयरमा दाबी गरेको छ । त्यस अर्थमा यसपटक जसपाको दरिलो प्रतिस्पर्धा भने कांंंग्रेससँग हुने देखिन्छ । यसबाहेक गठबन्धनबाट माओवादी केन्द्रको दाबी उप–मेयर मात्र भएको र कांग्रेस मेयर र उपमेयर दुवै छाड्न तयार नरहेको अवस्थामा माओवादी र कांंग्रेसबिच सहमति नभए जसपा र माओवादी केन्द्रबिच तालमेलको सम्भावना पनि बलियो रहेको दलका नेताहरु बताउँछन् । २०७४ सालको निर्वाचनमा पनि माओवादी र फोरमले मेयर र उप–मेयरमा तालमेल गरेको थियो ।

यस्तो थियो २०७४ सालको अंकगणित
२०७४ सालको निर्वाचनमा विराटनगरको मेयर र उप–मेयरमा नेपाली कांग्रेसले जित हाँसिल गरेको थियो । कांग्रेसका भीम पराजुली २३ हजार ३१ मतसहित विजयी हुँदा दोस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए । तेस्रो भएका तत्कालिन संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए ।

विराटनगर महानगरपालिकामा ०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको आधारमा कांग्रेसको मत १६ हजार ७ सय ६६ थियो । यस्तै, एमालेको १६ हजार २ सय १८ र संघीय समाजवादी फोरमको मत लगभग ११ हजार थियो । विराटनगर महानगरपालिकामा अघिल्लो निर्वाचनको तुलनामा हाल १९ हजार ३ सय ८१ जना मतदाता थपिएका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार मतदाताको संख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेको छ । २०७४ सालको निर्वाचनमा भने विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६१ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्