विराटनगर । उद्यमशीलता विकासको लक्ष्यसहित मोरङको विराटनगरमा आयोजित स्टार्टअप एण्ड आईडिया फेस्टमा प्रदेशभरिका नवउद्यमीहरुले आ–आफ्नो उत्पादन प्रर्दशन गरेका छन् ।
प्रदेश नं. १ बाट ३५ भन्दा बढी नवउद्यमीहरुले इन्फरमेशन एण्ड टेक्नोलोजीसँग सम्बन्धित आ–आफ्नो स्टार्टअप आईडिया प्रर्दशन गरेका हुन् । लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा विराटनगरस्थित उद्योग संगठन मोरङमा सोमबार प्रदेशस्तरीय स्टार्टअप एण्ड आईडिया फेस्टको आयोजना गरिएको थियो । विराटनगरस्थित सत्यनारायण मा.वि.मा इलेक्ट्रीकल इन्जिनियरिङ अध्ययनरत विराटनगर–१५ का छत्रमणि यादवले ‘स्मार्ट होम अटोमेशन सिस्टम’ प्रर्दशन गरे । उक्त सिस्टमले घरमा प्रयोग हुने सबै प्रकारका विधुतीय उपकरणहरु इन्टरनेटको माध्यमबाट मोबाइलबाटै नियन्त्रण गर्ने उनले बताए । इन्टरनेट बिना पनि उक्त विधुतीय उपकरणहरु नियन्त्रण गर्न मिल्ने योजनाका साथ मोबाईल एपको पनि निमार्ण कार्य भईरहेको उनले जानकारी दिए ।
सुुनसरीको इटहरी–४ बस्दै आएका फेस्टमा सहभागी अर्का नवउद्यमी अनिश पोखरेलले आफैले बनाएको ‘क्वाटकप्टर’ प्रर्दशन गरे । क्वाटकप्टरको सहायताले आवतजावतको सहजता नरहेको दुर्गम क्षेत्रमा औषधी लगायतका अत्यावश्यक वस्तुहरुको पुर्याउन सहयोग पुग्ने उनले बताए । उनले भने, ‘यसमा जिपिएस छ । एकपटक जिपिएस हालिसकेपछि यसले अटोपाईलट मोडमा निश्चित ठाउँमा गएर औषधी लगायतका अत्यावश्यक वस्तु डेलिभर गरेर आउँछ । सानो ट्रान्समिटर भएकाले तत्काल यसले १ किलोमिटरको क्षेत्रभित्र उक्त कार्य गर्न सक्छ । ठुलो ट्रान्समिटर प्रयोग गर्दा यसको रेन्ज बढाउन सकिन्छ ।’
यस्तै कार्यक्रममा सहभागी विराटनगर–१२ का श्रीजल श्रेष्ठले नेपालमै पहिलोपटक निर्मित एन्टीभाईरस ‘एम सेक्युरिटी’ को आईडिया प्रर्दशन गरे । एम सेक्युरिटीले परफमेन्श, प्रोटक्शन र प्राईभेसीका साथै ब्याट्री सेभर, प्रिमियम भिपिएन, सेफ ब्राउजिङ र भल्ट लगायतका अन्य सुविधाहरु समेत प्रदान गर्ने उनले बताए । उनले एम सेक्युरिटी एन्रोडईड, पिसी र म्याक गरि ३ वटैका लागि उपलब्ध रहेको जानकारी दिए ।
फेस्टमा उनीहरुसँगै प्रदेश १ भरिबाट ३५ बढी नवउद्यमीहरुले आ–आफ्नो आईडिया र इनोभेसन सार्वजनिक गरेका थिए । हरेक प्रदेशबाट कम्तिमा ५ जना उत्कृष्ट स्टार्टअप तथा आइडिया छनौट गरी काठमाण्डौंमा सञ्चालन हुने बिजनेश इन्क्युबेसनमा सहभागी गराउन लिभिङ विथ आईसिटीले उक्त फेस्टको आयोजना गरेको थियो । उद्यमशीलताको विकास र नवप्रर्वतकहरुको प्रर्वद्धनमा फेस्टले निकै सहयोग पु¥याउने लिभिङ विथ आईसिटीका फाउण्डर राजन लम्सालले बताए । उनले सोमबारको कार्यक्रमबाट उत्कृष्ट ५ देखि ७ जना नवउद्यमीहरुलाई काठमाण्डौंमा हुने आईसिटी अर्वाडमा सहभागिताका निम्त्ति छनौट गरिने जानकारी दिए ।
उक्त कार्यक्रममा आफ्नोे प्रर्दशन र प्रतिस्पर्धाबाट उत्कृष्ट स्र्टाटअपले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियतपुर्ण कर्जा तथा आइसिटी अवार्ड–२०२२ मा सम्मानित हुने अवसर समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।