विराटनगर । नेपाल बार एशोसिएसनको हालै सम्पन्न केन्द्रीय अधिवेशसमा सत्तारुढ दल निकट कानुन व्यवसायीहरुको गठबन्धनले एकलौटी चुनाव जितेपनि मोरङ बारमा भने अन्य समूहका कानुन व्यवसायी पनि समेटिएका छन् ।
प्रजातान्त्रिक विचार समूहका कानुन व्यवसायीहरुको वर्चश्व रहेको मोरङ बारमा प्रगतिशील विचार समूहलाई पनि समेटेर सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति गठन गर्ने प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको जनाइएको छ ।
पदाधिकारीसहित १८ सदस्यीय कार्यसमितिमा पाँच जना सदस्य प्रगतिशील समूहका परेका छन । ती मध्ये एमाले निकट तीन जना, माओवादी र एकीकृत समाजवादी निकट एक एक जना परेको बताइएको छ । बैशाख १० गतेका लागि तोकिएको मोरङ बारको निर्वाचनका लागि हालै भएको उम्मेदवारी दर्ताकै क्रममा सर्वसम्मत भएको बताएको छ ।
मोरङ बार एशोसिएसनका अनुसारअध्यक्षमा कल्याण केसी, उपाध्यक्षमा किशोर कुमार माझी, सचिवमा मुक्तिनाथ सुवेदी, सहसचिव महिलामा दिपा देवकोटा कार्की र कोषाध्यक्षमा बलराम मेहता सर्वसम्मत भएका छन् । यस्तै सदस्यहरुमा जयन्तकुमार पौडेल, रमेशप्रसाद लुइटेल, बालकृष्ण आचार्य, महेशकुमार ढकाल, लक्ष्मणप्रसाद घिमिरे, बलराम ठाकुर र डिल्लीराम घिमिरे, शंकरबहादुर कार्की, पुरुषोत्तमकुमार कर्ण, विकास थापा, रोशनकुमार गुप्ता, काजीबाबु पोखरेल र महेश्वरीकुमारी चौधरी सदस्य चयन भएका छन् ।
आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले निर्वाचन गर्नु नपरेको र शुक्रबार नयाँ कार्यसमितिको औपचारिक घोषणा हुने जनाइएको छ । अध्यक्षमा सर्वसम्मत भएका कल्याण केसीले व्यवसायिक संस्था भएकाले प्रजातान्त्रिक समूहको बहुमत भएपनि सबै विचार र समूहलाई समेटेर कार्यसमिति चयन गरिएको बताए ।
आजको उद्घोष दैनिकमा समाचार प्रकाशित छ ।