विराटनगर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाका विभिन्न वडामा पुनः जनप्रतिनिधिको उमेदवार बन्नका लागि राजीनामा बुझाउनेको लर्को लागेको छ । बिहीबार १४ जना जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिएका थिए ।
सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताको व्यवस्थालाई सदर गरेपछि जनप्रतिनिधिहरु धमाधम राजीनामामा जुटेका हुन् ।
बिहीबार महानगरको वडा नं. ५, १०, ११, १४ र १९ नम्बर वाार्डका वडाध्यक्ष तथा सदस्यहरुले पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएका १४ जनप्रतिनिधिमध्ये विराटनगर ५ का वडाध्यक्ष मिनकुमार आचार्य बाहेक १३ जना जनप्रतिनिधिहरुको राजीनामा सनाखत भइसकेको थियो । विराटनगर ५ का वडाअध्यक्ष आचार्यको महानगरपालिकामा बेरुजु देखिएको र बेरुजु फस्र्यौट नभएका कारण आचार्यले बुझाएको राजीनामा सनाखत हुन सकेको छैन ।
वडाध्यक्ष आचार्यबाहेक सबैको राजिनामा सनाखत भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिनुभयो । आज पनि उतिकै भीड छ, प्रशासकिय अधिकृत बस्नेतले भन्नुभयो–प्रक्रियामा आएका र प्रक्रिया पूरा भएका जनप्रतिनिधिको राजीनामा सनाखत गरिरहेका छौं । विराटनगर ५ का वडाध्यक्ष आचार्यसहित वडा सदस्य केवल राय अमात, दलित महिला सदस्य राधादेवी पासवान र महिला वडासदस्य बिनादेवी धानुकले राजिनामा दिएका थिए ।
पदबाट राजीनामा दिनेमा विराटनगर १० का वडाध्यक्ष, माधवराज वाग्ले, १० कै वडा सदस्य बिजय दाहाल, वडा नम्बर ११ का अध्यक्ष तिर्थेन्द्र नेउपाने, वडा नम्बर १४ का अध्यक्ष बलदेव यादव, १४ कै सदस्य राजनन्द महतो र वडा नं. १९ का अध्यक्षसहित पाँचै जना छन् । विराटनगर–१९ का अध्यक्ष बद्रीनारायण सरदार, सदस्य सम्झना भुजेल, बिनादेवी सरदार, जितेन्द्र खवास र नागेश्वर राजवंशीले राजिनामा दिएका छन् ।