विराटनगरका सबै वडामा उमेद्वारी दिदैं काँग्रेस, उपमेयरको हकमा केन्द्रलाई मान्ने

विराटनगरका सबै वडामा उमेद्वारी दिदैं काँग्रेस, उपमेयरको हकमा केन्द्रलाई मान्ने

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिका भित्रका सबै वडामा उमेदवारी दिने भएको छ । आज र भोली मनोनयन गरिसक्नुपर्ने वडाका अध्यक्षको यतिबेलासम्म टुङ्गो लगाई नसकेको काँग्रेसले भोलिसम्ममा सबै वडामा मनोनयन गर्ने गरि तयारी थालेको हो ।

पार्टीका महानगर समितिका सभापति दिपक चापागाँईले केन्द्रले निर्णय गरेको उपमेयर बाहेक सबै वडामा आफ्नो पार्टीको उमेदवारी हुने बताउनुभयो । वडाअध्यक्षहरुको अन्तिम टुङ्गो लगाउन काँग्रेस महानगर समितिको अहिले बैठक जारी रहेको छ । आज साँझसम्ममा सबै टुङ्ग्याएर भोलि मनोनयन गर्ने तयारी भईरहेको सभापति चापागाँईले भन्नुभयो । विराटनगरको मेयर नेपाली काँग्रेसलाई र उपमेयर जसपालाई पर्ने गरि केन्द्रले निर्णय गरिसकेको छ । महिला संघले मेयर र उपमेयरमा महिला हुनुपर्ने भन्दै दवाव दिएसँगै वडाअध्यक्षमा समेट्ने गरिको प्रयास सुरु गरिएको छ ।

नेपाली काँग्रेसको केन्द्रमा विराटनगरको मेयरका लागि कसलाई अगाडी सार्ने भन्ने विषयमा पार्टीका शिर्ष नेताबीच विवाद भईरहेको छ । सभापति शेरबहादुर देउवाले अमृत अर्याल, डा.शेखर कोइरालाले नागेश कोइराला र नेता कृष्ण सिटौलाले अहिलेका मेयर भीम पराजुलीको नाम लिएर अडान कायम राखिरहेका छन् । काँग्रेसका एकथरी नेता कार्यकर्ताले डा.डिला संग्रौलालाई मेयरको टिकट दिएर पठाए सबैलाई समेट्न सकिने तर्क समेत सुरु गरेका छन् । तर, महानगर सभापति चापागाँईले भने कार्यकर्ताको भावना समेटेर अहिले नागेश कोइरालालाई सभापति बनाउनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्