नेकपा एमालेको विराटनगर महानगरको प्रतिबद्धतापत्र सार्वजनिक

नेकपा एमालेको विराटनगर महानगरको प्रतिबद्धतापत्र सार्वजनिक

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरको घोषणापत्र सार्वजनिक गरेको छ ।

बैशाख ३० गते हुने निर्वाचनका लागि एमालेले उम्मेदवारी मनोनयन सम्पन्न भएसँगै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । बुधबार एमाले पार्टी कार्यालय पाञ्चाली विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईञ्चार्ज देवराज घिमिरेले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो । १४ पृष्ठ लामो प्रतिबद्धतापत्रमा एमालेले शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सडक, खानेपानी, सरसफाई तथा ढल निकास, सुरक्षित आवास, सामाजिक विकासलाई निकै जोड दिएको छ । यस्तै वातावरण संरक्षण र पार्क, सूचना र सञ्चार, सडक सुरक्षा युवा तथा रोजगारी, खेलकुद तथा शारीरिक सुगठन सहरी कृषि विकास, उर्जा र औद्योगिक विकास, विज्ञान तथा प्रविधि, लघु उद्योग र बजार विकास, साहित्य, कला, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन, सुशासन र पारदर्शिता, बाह्य सम्बन्ध, र विविध पक्षलाई प्रतिबद्धतामा समेटिएको छ । एमालेले प्रतिबद्धता पत्रमा हाम्रा जनप्रतिनिधि शासक नभई जनताको सेवक हुन् उनीहरुले सामाजिक जागरण र विकासका अभियान्ताका रुपमा काम गर्नेछन् भन्ने उल्लेख गरेको छ । प्रतिबद्धतापत्रमा बृहत विराटनगरको गुरुयोजना बनाई व्यवस्थित, विकसित र वातावरण मैत्री स्मार्ट सिटी बनाउने देखि प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश सरकार र प्रदेशसभाका लागि स्थायी संरचना निर्माणमा आवश्यक पहल तथा सहजिकरण गर्ने सम्म उल्लेख गरिएको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि प्रदेश इन्चार्ज देवराज घिमिरेले सम्पूर्ण महानगरबासीलाई समृद्ध विराटनगर र सुखी नेपाली बनाउने र बन्ने अभियानमा सरिक हुन आग्रह गर्नुभयो । एमालेबाट महानगरको मेयरको उम्मेदवार समेत रहनुभएका एमाले महानगर कमिटीका अध्यक्ष सागरथापाले कार्यक्रमको अध्यक्षता गर्दै विराटनगरको विकास गर्न कै लागि आफु उम्मेदवार भएको र जनताको सेवकको रुपमा काम गर्ने बताउनुभयो । उपमेयरको उम्मेदवार तथा नेकपा एमाले महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीले नेकपा एमालेले चुनाव जित्छ, महानगरको विकास तिब्रतर गर्छ भन्ने बुझेकाहरुले आत्तिएर आफुमाथि उजुरी दिएको बताउनुभयो । उहाँले यसअघि नै सम्बन्धित निकायमा राजिनामा दिइसकेको र आफुसँग प्रमाण रहेको भन्दै निसन्देह एमालेको चुनावी प्रचारमा जुट्न आग्रह गर्नुभयो । कोसी अस्पतालको समितिमा रहँदा आफुले कुनै सुविधा भोग नगरेको दाबी गर्दै उहाँले महानगरको उपमेयरमा निर्वाचिज भएपछि पनि सेवाभावका राथ काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘म कमाउन राजनितीमा आएको हैन, एमालेले मलाई जनताको सेवा गर्न उम्मेदवार बनाएको मैले राम्रो बुझेको छु ।’ कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्षले विराटनगर महानगरपालिकाको १९ वटै वडाको वडा अध्यक्ष तथा वडा सदस्यको उम्मेदवारहरूको परिचय गराउनु भएको छ । कार्यक्रममा नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ ईन्चाज देवराज घिमिरेले महानगर पालिकाको प्रतिवद्दता पत्र सार्वजनिक गर्दै महानगरको चुनावको लागि २ हजार १ सय ११ सदस्य निर्वाचन परिचालन कमिटी घोषणा गर्नु भएको छ । महानगरको निर्वाचन परिचालन कमिटीको संयोजकमा एमालेको पोलिटव्युरो सदस्य तथा मोरङ ईन्चार्ज विनोद ढकाल रहनुभएको छ भने विराटनगर महानगरपालिकाका रह्नु भएको पार्टीको केन्द्रिय कमिटी सदस्य , प्रदेश कमिटी सदस्य , केन्द्रिय सल्लाकार कमिटी सदस्य , मोरङ जिल्ला कमिटी पदाधिकारी तथा सदस्य , महानगर कमिटी सदस्य र १९ वटा वडा कमिटी तथा कमिटीको मातहातमा रहेको टोल कमिटी सदस्यहरू परिचालन कमिटीको सदस्यमा रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्