किर्ते पत्रको आधारमा कार्कीको उम्मेदवारी सदर : गठबन्धनद्वारा काठमाण्डौं अदालतमा मुद्दा

किर्ते पत्रको आधारमा कार्कीको उम्मेदवारी सदर : गठबन्धनद्वारा काठमाण्डौं अदालतमा मुद्दा

विराटनगर । किर्ते कागजातको आधारमा विराटनगर उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीको उम्मेदवारी सदर गरिएपछि गठबन्धनले कार्की विरुद्ध कानुनी प्रक्रियामा जाने निर्णय गरेको छ ।

शुक्रबार बसेको पाँच दलीय गठबन्धनको बैठकले दुई बुँदे निर्णय गर्दै कार्कीविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा दिएको किर्ते कागज पेश गरेर कार्कीले उम्मेदवारी सदर गराएपछि गठबन्धनले कानुनी उपचार खोज्ने निर्णय गरेको जसपा विराटनगर महानगर कमिटीले जनाएको छ । कमिटीका अनुसार बैठकले विकास समिति र व्यवस्थापन समितिको पदाधिकारीमा बहाल रहेको उम्मेदवारले मनोनयन पत्र जाँच हुने अन्तिम मितिसम्म राजीनामा गरेको प्रमाण पेश गरेमा निर्वाचन अधिकृतले मनोनयन पत्र सदर गर्नसक्ने नियम समेत कार्यान्वयन नगर्न तथा यथास्थिति राख्न आयोग समक्ष अनुुरोध गर्ने निर्णय गरेको छ । निर्णयानुसार कार्की विरुद्ध सोमबार मुद्दा दर्ता गर्ने तयारी गरिएको जसपा महानगर कमिटीका अध्यक्ष अमरेन्द्र यादवले बताए । उनले शनिबार र आईतबार सरकारी बिदा भएकाले सोमबार मुद्दा दर्ताको तयारी गरिएको जानकारी दिए । उनले भने, ‘अहिले हामी वकीलहरुसँग बसेर सल्लाह र आवश्यक परामर्शको कार्य गरिरहेका छौं । मुद्दा सोमबार दर्ता हुन्छ ।’

नेकपा (एमाले) बाट उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीले बैशाख १२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएकी थिईन् । तर, अस्पताल विकास समितिको सदस्यबाट राजीनामा नदिएको भन्दै उनी विरुद्ध सोही कार्यालयमा उजुरी परेको थियो । जसपा विराटनगर महानगर कमिटी अध्यक्ष तथा उपमेयरका उम्मेदवार समेत रहेका अमरेन्द्र यादवले कार्की विरुद्ध उजुरी गरेका थिए । उजुरीपछि उनीले बैशाख ११ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएको भन्दै ७२९९ दर्ता नम्बर भएको राजीनामाको प्रतिलिपि कार्यालय समक्ष पेश गरेकी थिईन् । कार्कीले बुझाएको सोही कागजको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार उनको उम्मेदवारी सदर गरिसकेको छ ।

तर, उनले मन्त्रालयमा बुझाएको राजीनामाको दर्ता नम्बर नै किर्ते रहेको खुलेको छ । दर्ता किताबमा वैशाख ११ गते ७२९९ दर्ता नम्बरमा कार्कीको नभई सुर्य नेपाल नामक कम्पनीको पत्र दर्ता भएको देखिएको छ । मन्त्रालयका अनुसार ७२७८, ७२९९ र ७३०० दर्ता नम्बरमा सुर्य नेपाल प्रा.लि नामक कम्पनीको सुर्तीजन्य पदार्थ (नियमन नियन्त्रण) ऐन सम्बन्धी पत्र दर्ता गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत एवं सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले यसबारे पुष्टि गरेका छन् ।

कार्कीले तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका स्वकिय सचिवलाई प्रभावमा पारेर किर्ते गरी आफ्नो राजीनामा स्वीकृत गराएको श्रोतले जनाएको छ । मन्त्रालयका कर्मचारीको मिलेमत्तोमा कार्कीले आफ्नो राजीनामा पत्रमा दर्ता भईसकेको अर्को पत्रको दर्ता नम्बर राखेको श्रोतको दाबी छ । नेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीकी सचिव हिरा कुमारी दाहाल (मिरा) ले उपमेयर पदकी उम्मेदवार कार्कीले दिएको राजीनामा सम्बन्धमा आधिकारिता माग गर्दै सूचनाको हक अन्तर्गत दिएको निवेदनमा मन्त्रालयले सो जानकारी दिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कार्कीलाई अस्पताल विकास समितिको सदस्यमा मनोनित गरेको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गत माघ २१ गतेको निर्णयानुसार २२ गतेको पत्रबाट उनीसहित विकास समितिका सबै पदाधिकारीलाई पदमुक्त गरिएको थियो । सरकारको निर्णय चित्तबुझ्दो नभएपछि कार्की सहितका पदाधिकारी अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले सरकारी निर्णयको विपक्षमा अन्तरिम आदेश जारी गरिदिएपछि उनीहरु पुर्नबहाली भएका थिए ।

अस्पताल विकास समितिमा पुर्नबहाली भएकी कार्की पदमै बहाल रहेको बेला उम्मेदवार बनेपछि उनी विरुद्ध उजुरी परेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख १३ गते उजुरी परेपछि उनीले अस्पताल विकास समितिको अध्यक्ष महेश भट्टराईलाई बैशाख ९ गतेको मितिमा राजीनामा बुझाएकी थिईन् । एमाले नेता समेत रहेका भट्टराईले मन्त्रालयबाट नियुक्त भएका विकास समितिका पदाधिकारीले मन्त्रालयमै राजिनामा दिनुपर्ने भन्दै तोक लगाईदिएका थिए । त्यसपछि नै कार्कीले काठमाण्डौं पुगेर मन्त्रालयको दर्ता किताबमा किर्ते गरि राजीनामा दर्ता गराएकी थिईन् ।

शुक्रबार सोही बिषयको विरोधमा गठबन्धनका दलहरुले भने मुख्य निर्वाचनको अधिकृतको कार्यालय घेराउ गर्दै चर्को नाराबाजी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्