विराटनगर । आसन्न स्थानीय निर्वाचनलाई केन्द्रित गर्दै विवेकशील साझा पार्टीले विराटनगरका निम्त्ति आफ्नो २५ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीले विराटनगरका निम्त्ति राजनितिक र आर्थिक एजेण्डा सहितको प्रतिज्ञा पत्र सार्वजनिक गरेको होे । आईतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टीका मोरङ जिल्ला अध्यक्ष एवं मेयर पदका उम्मदेवार अमलेश कर्णले आफ्ना चुनावी एजेण्डाहरु प्रस्तुत गरेका हुन् । पार्टीको प्रतिज्ञा पत्रमा भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन, अर्थतन्त्रको उद्वेलन, रोजगारी, निःशूल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, सुरक्षित आवास, गुणस्तरीय सार्वजनिक यातायात, सन्तुलित विदेश नीति, वैज्ञानिक भु–उपयोग तथा पूर्वाधार निमार्ण र वातावरण संरक्षण लगायतका बुँदाहरु समावेश गरिएका छन् ।
विद्यार्थीहरुका लागि विद्यार्थी सञ्चय कोष, १० हजार विद्यार्थी पठनपाठन गर्ने निःशूल्क शिक्षालय र प्राविधिक शिक्षामा जोड दिई पठनपाठनसँगै आयआर्जनको संयन्त्र निमार्ण पार्टीको मुख्य चुनावी एजेण्डाहरु हुन् । नव–उद्यमीहरुलाई सहयोग गर्ने लक्ष्य सहित पार्टीले बैंक तथा वित्तीय संस्थाहरुसँगको आवश्यक समन्वयमा रु. १० लाखसम्मको सहुलियतपुर्ण कर्जाको व्यवस्थापन गर्ने योजना समेत आफ्नो प्रतिज्ञा पत्रमा समावेश गरेको छ । निर्वाचित भएर आएपछि ज्येष्ठ नागरिकका लागि ‘अनुभव संरक्षण शाखा’, नगरबासीका लागि नगर लिङ्क बस, सुकुम्बासीका लागि संयुक्त आवास, दाहोरो कर प्रणालीको अन्त्य र साईकलमैत्री शहर निमार्ण गर्ने पार्टीको प्रतिबद्धता छ । आईतबार सार्वजनिक प्रतिज्ञा पत्रमा विराटनगरमा दैनिक उपभोग्य वस्तु पाउने सुपथ मूल्य पसल, रात्रीकालिन व्यावसाय सञ्चालनको प्रबन्ध, सम्पुर्ण वडाहरुमा निःशूल्क लेखापढी सेवा तथा नगर र वडा कार्यालयहरुको प्रगति विवरण प्रत्येक ३÷३ महिनामा सार्वजनिक गरिने बिषय समेत उल्लेख गरिएको छ ।
जनताले सेवाको अवसर प्रदान गर्ने विराटनगरलाई मुलुककै नमुना शहरको रुपमा विकास गर्ने लक्ष्य रहेको पार्टीका मोरङ जिल्ला अध्यक्ष एवं मेयर पदका उम्मेदवार अमलेश कर्णले बताए । उनले सुशासन, भ्रष्ट्राचार अन्त्य र पारदर्शीता नै विकासको मुल आधार रहेको जिकिर गरे । उनले भने, ‘निर्वाचित भईसकेपछि जितेका ठाउँमा विज्ञहरुको टोली पठाएर हामी विकासका सम्भावनाहरु अध्ययन गर्ने कार्य गछौं ।’
यस्तै पत्रकारहरुको प्रश्नको जवाफ दिँदै पार्टीका केन्द्रिय अध्यक्ष रविन्द्र मिश्रले यसपटकको स्थानीय निर्वाचनमा विवेकशील साझाले पराजय व्यहोर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे । उनले पार्टीको चुनावी एजेण्डा नै जितको प्रमुख आधार रहेको बताए । पार्टीभित्र विद्रोहको अवस्था रहेको पत्रकारको प्रश्न जवाफ फर्काउँदै अध्यक्ष मिश्रले त्यसलाई वैचारिक बहसको रुपमा लिनुपर्ने तर्क गरे । उनले भने, ‘वैचारिक बहस र विमति सबै ठाउँमा हुन्छन् । अहिले भएको त्यही हो ।’
आउँदो स्थानीय निर्वाचनमा विवेकशील साझाले भने विराटनगर महानगरमा मेयर र उपमेयर सहित कुुल ९ जना उम्मेदवारहरु खडा गरेको छ । विवेकशीलबाट विराटनगरको मेयरमा अमलेश कर्ण र उपमेयरमा श्रृजु पराजुली उम्मदेवार छिन् । यसबाहेक वडाध्यक्षहरुमा वडा नं. १ बाट प्रदिप कुमार मेहता, ३ बाट उज्जवल भट्टराई, ५ बाट सञ्जय कुमार कर्ण, ६ बाट अनिल साह, १५ बाट इन्द्र नारायण साह, १६ बाट शम्भु कुमार यादव र १७ बाट अवधेश कुुमार कर्ण उम्मेदवार छन् ।