विराटनगर । आसन्न स्थानीय निर्वाचनको मिती घोषणा भईसकेपनि मतदानका निम्त्ति यसपटक नेपाली नागरिकको स्वदेश फर्किने क्रम न्यून देखिएको छ ।
विगतका निर्वाचन वर्षहरुको तुलनामा यसपटक मतदान प्रक्रियामा सहभागी हुन भारत लगायत तेश्रो मुलुकमा रहेका नेपाली नागरिकहरुको स्वदेश आगमन न्यून देखिएको हो । निर्वाचन कार्यतालिका जारी गर्दै सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । तर, निर्वाचनका निम्त्ति १० दिन मात्र बाँकी हुँदा पनि यसपटक विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किएका छैैनन् । चुनाव नजिकिएसँगै विगतका वर्षहरुमा यतिबेला नाकाहरुमा नेपाल फर्किने नागरिकहरुको लर्को लाग्ने गर्दथ्यो । तर, यसपटक अवस्था फेरिएको छ । मोरङको विराटनगरस्थित रानी नाकापनि यसपटक सधैं झैं सामान्य देखिएको छ । पठनपाठन र रोजगारीको सिलसिलामा भारत गएका नेपाली नागरिकहरु फ्याट्टफुट्ट रुपमा स्वदेश फर्किरहेका छन् । तर, मतदानकै निम्त्ति भने स्वदेश फर्किनेको संख्या शून्य बराबर रहेको सीमामा खटिएका सुरक्षाकर्मीहरु बताउँछन् ।
रानीमा अध्यागमन विभागको अभावमा भारतबाट नेपाल फर्किने नेपालीहरुको यकीन विवरण नभएपनि रानी हेल्थ डेस्कका अनुसार बैशाख १ गतेयता १३१ जना नेपालीहरु स्वदेश फर्किएका छन् । जसमा अधिकांश रोजगारी र पठनपाठनको सिलसिलामा भारत गएको देखिएको छ । हेल्थ डेस्कका इन्चार्ज सुरेन्द्र यादवका अनुसार मतदानका निम्त्ति भन्दापनि बिहे, ब्रतबन्ध र विभिन्न पारिवारिक कार्यक्रममा सहभागी हुन नेपालीहरु हाल स्वदेश फर्किरहेका छन् । यो संख्या पनि सधैं झैं सामान्य छ ।
सीमा खटिएका नेपाल प्रहरीका असई किसन मण्डल भन्छन, ‘भारतबाट फर्किने भन्दा पनि किनमेलका लागि जोगबनी जानेको संख्या बढेको छ । सिजन भएर होला, दिनहुँ हजारौंको संख्यामा नेपालीहरु किनमेलका लागि भारतीय बजार जोगबनी जान्छन् ।’
कोभिड महामारीको दीर्घकालीन प्रभाव स्वरुप पनि बिशेष गरी भारत र त्यसपछि अन्य मुलुकमा रहेका नेपालीहरु स्वदेश फर्किन नचाहेको स्थानीय बताउँछन् । स्थानीय मुख्तार हुसैन भन्छन, ‘कोभिडका कारण धेरै नागरिकले आफ्नो क्रयशक्ति गुमाए । रोजगारी गुमाए । आर्थिक संकटमा परे । उनीहरुले बल्ल रोजगारी पाएका छन । भारतमा काम गरेर परिवार पाल्दैछन् । भोट हाल्नै स्वदेश फर्किनु उनीहरुका लागि सम्भव छैन् ।’
भारतमा रहेका नेपाली नागरिकको यकीन तथ्याङ्क नभएपनि केही वर्षअघि गठन भएको नेपाल–भारत प्रबुद्ध समुहको डाटा अनुसार भारतमा रहेका नेपाली नागरिकहरुको संख्या करिब ५ देखि ७ लाख छ ।