विराटनगर । स्थानीय निर्वाचन अन्तर्गत विराटनगर–४ मा पाँच पार्टीका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका उम्मेदवारबीचको चुनावी सरगर्मी विराटनगर–४ मा बढेको हो ।
नेपाली काँग्रेसबाट सन्जय मण्डल, नेकपा एमालेबाट जितेन थापा, माओवादी केन्द्रबाट जिसस न्यौपाने, एकिकृत समाजवादीबाट राम लिम्बु र जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव यस वडाको अध्यक्षका उम्मेदवार हुनुहुन्छ । अन्य भएपनि मूलधारका पार्टीबीचको प्रतिस्प्रर्धा भने रोचक देखिएको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रबाट युवा उमेदवार यस वडामा अध्यक्षका दावेदार रहेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा नेपाली काँग्रेसका देवेन्द्र पोखरेल यस वडामा निर्वाचित भएका थिए ।
यस पटक पोखरेललाई टिकट नदिएर मण्डललाई ल्याइएको छ । गत निर्वाचनमा काँग्रेसका पोखरेलले १२७८ मत ल्याउँदा एमालेबाट वडा अध्यक्ष उमेदवार सरस्वती भण्डारीले १२५८ मत प्राप्त गर्नु भएको थियो । न्यून मतान्तरले हारजित भएको उक्त निर्वाचनमा लोकतान्त्रिक फोरम ११२१, संघीय समाजवादीली ८०३ मत, माओवादीका उम्मेदवारले ५३६ मत प्राप्त गरेका थिए ।
तर, यस पटक त्यहाँको माहौल फेरिएको छ । यस पटक काँग्रेस, एमाले र माओवादीबीचको कडा टक्कर देखिएको छ । उमेदवार समेत युवा भएका कारण मतदाताले कुन दलका युवालाई रोजेर भोट हाल्ने भन्ने दोधारमा परेका छन् ।
माओवादी केन्द्रका न्यौपानेले यस पटक आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् । उनले अन्य दलका उम्मेदवारको अवस्था समेत राम्रो भएपनि मतदाताले रुचाइएको उम्मेदवारको रुपमा आफ्नो उम्मेद्वारी रहेको दावी गरेका छन् । एमालेका जीतेन थापाको सामाजिक रुपमा आफू स्थापित भएका कारण जित सुनिश्चित रहेको दावी छ । थापाले सामाजिक र राजनीतिक रुपमा आफ्नो पक्षमा माहोल सिर्जना भएको बताए । काँग्रेसका मण्डलले भने अघिल्लो निर्वाचनमा फोरम लोकतान्त्रिक पार्टीले ल्याएको मत समेत काँग्रेसमा जोडिएकोले दोब्बर मतले जीत हाँसिल गर्ने दावी गरेका छन् । जनता समाजवादीका यादव समेत मतदाताले आफ्नो पक्षमा मत खसाल्ने विश्वास गर्दछन् । वडामा सबै पार्टीका अध्यक्ष उम्मेदवार मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त रहेका छन् ।