विराटनगर । निर्वाचन नजिकीदै जाँदा विराटनगरको सडक माहौल फेरिएको छ । मेयर र उपमेयर र वडामा उमेदवारी दिइएका उमेदवारले घरदैलो कार्यक्रमलाई रंगिन बनाईरहेका छन् ।
उमेदवारले मतदातालाई हात जोडेर नमस्कार गर्दछन् । उमेदवारको साथ लागेर गएका समर्थक सडकमा नाच्दै गाउँदै मनोरञ्जन दिईरहेका देखिन्छन् । विराटनगरमा मुख्य राजनीतिक दल नेपाली काँग्रेस र एमालेबीचको प्रतिस्प्रर्धा नै निष्कर्षउन्मुख अनुमान गरिएको छ । तर, स्वतन्त्र उमेदवार भएका मेयर उपमेयरका उमेदवारको लाल्टिन पनि विराटनगरमा झन्झ्न बलिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) चुनाव चिन्हको समेत चुनावी गतिविधि तिव्र बनेको छ ।
गठबन्धनबाट नेपाली काँग्रेसका मेयर नागेश कोइराला र जनता समाजवादी पार्टीले उपमेयरमा अमरेन्द्र यादवलाई अगाडी सारेको छ । उनीहरुको समर्थनमा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवादेखि नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरुले विराटनगरमा भोट मागेर फर्केका छन् ।
नेकपा एमालेले सागर थापालाई मेयर र शिल्पा निराला कार्कीलाई उपमेयर उमेदवार बनाएको छ । एमालेको निर्वाचन लक्षित घरदैलो पनि विराटनगरमा सशक्त रुपमा अगाडी बढिरहेको छ । केन्द्रका नेताहरुसहितको उपस्थितिमा घरदैलो मनोरञ्जनात्मक ढंगबाट अगाडी बढिरहेको छ ।
स्वतन्त्रबाट उमेश यादव र नमिता न्यौपानेको उमेदवारी रहेको छ । विराटनगरमा यस पटक मेयर र उपमेयरको उमेदवार बनेका सबैको सामाजिकस्तर समान नै देखिन्छ । नेपाली काँग्रेसका नागेश कोइराला र एमालेका सागर थापा राजनीतिक रुपमा उतिकै स्थापित मानिन्छन् । थापाले महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति भएपछि पार्टी बाहेकको सार्वजानिक पद लिएका छैनन् । कोइराला पनि पार्टी राजनीति बाहेकको नेतृत्वमा नआएका व्यक्तिमा पर्दछन् । मूलधार मानिएका पार्टीका उमेदवारको चुनावी सरगर्मी भने बढेको छ ।
लाल्टिनका स्वतन्त्र उमेदवार उमेश यादव र उपमेयर उमेदवार नमिता न्यौपाने निर्वाचनको मामलामा २०७४ को अनुभवी छन् । स्वतन्त्र उमेदवारी दिएका दुवैजना २०७४ मा गठबन्धनबाटै उमेदवारी दिएकामा पर्दछन् । उनीहरुले अहिले भित्रभित्रै निर्वाचन प्रचारमा जुटेका छन् ।
विराटनगरमा उत्तरतर्फ भन्दा दक्षिणका वडामा चुनावी माहौल बेग्लै किमिसको देखिएको छ । दक्षिणमा अहिले लाल्टिनसँगै अन्य पार्टीका नेताहरुको बाक्लो जमघट हुने गरेको छ । उमेदवारको साथ लागेर जानेहरुलाई खानपीनको प्रवन्ध मिलाइएको छ ।