एमालेद्वारा विराटनगरका सबै वडामा घरदैलो कार्यक्रम सम्पन्न ,दोस्रो चरणमा कोणसभा र मतदाता शिक्षाको तयारी शुरु

एमालेद्वारा विराटनगरका सबै  वडामा घरदैलो कार्यक्रम सम्पन्न ,दोस्रो चरणमा कोणसभा र मतदाता शिक्षाको तयारी शुरु

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेकपा (एमाले) विराटनगरद्वारा सञ्चालित प्रचार अभियान अन्तर्गतको ‘घरदैलो कार्यक्रम’ अन्तिम चरणमा पुगेको छ ।

मेयर उपमेयर सहित महानगरका सबै वडाहरूका उम्मेदवारहरू घरघरमा पुगेर मतदाताहरूको भावना बुझ्ने र मत माग्ने पहिलो चरणको कामलाई बिटमार्दै दोस्रो चरणको प्रचार अभियानका रुपमा कोणसभा तथा मतदाता शिक्षाका कार्यक्रम हुने भएका छन् । पार्टीका वडाध्यक्ष समेत रहेका वडाध्यक्ष पदका उम्मेदवार श्याम घिमिरेका अनुसार वडा नं. १९ मा घरदैलो कार्यक्रम सकिएको छ । शुक्रवार विहानबाट मतदाता शिक्षाको कार्यक्रम शुरु हुने उनले बताए । सो वडामा वैशाख २४, २५ र २६ गते कोण सभा र मतदातालाई भोटहाल्ने सिकाउने कार्यक्रम गर्ने तयारी गरिएको छ । त्यसका लागि जनतालाई कार्यक्रमस्थलमा जम्मा भई एमाले पार्टीका विचार विचार नीति र कार्यक्रमका बारेमा जानकारी लिन आह्वान गरिने अध्यक्ष घिमिरे बताउँछन् ।

कूल ३७३५ मतदाता रहेको यस वडाका जनताको मुख्य चाहाना सुकुम्वासी, शिक्षा, खानेपानी आदि समस्या समाधान हुनुपर्ने रहेको अध्यक्ष घिमिरेले बताए ।
वडा नं. १८ पनि घरदैलो कार्यक्रम सकिएको छ । विभिन्न ठाउँमा मेयर उपमेयर र पार्टी नेताको उपस्थितिमा कोणसभा समेत भएका छन् । वडाअध्यक्ष जितेन्द्र कामतका अनुसार महिला पुरुषको भिन्दाभिन्दै समूह बनाएर मतदाता शिक्षा शुरु गरिएको छ । यस वडामा ४२७९ मतदाता रहेका छन् । दलित तथा सुकुम्वासी वस्ती वाहुल्य यस क्षेत्रका जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी लगायतका समस्याहरू उठाएकोले एमालेका प्रतिनिधिले चुनाव जितेपछि ती समस्या समाधान गर्ने वडाध्यक्षका उमेदवार भुवनेश्वर यादवले जनतालाई आस्वस्थ गराएको अध्यक्ष कामतले बताए ।

वडा नं. १७ मा पनि विहीबार अपरान्हबाट घरदैलो सकिएको पार्टीका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । पाँच हजार तीनसय २० मतदाता रहेको यस वडामा एमालेप्रतिको जनविश्वास वृद्धि भएको वताउँदै उनले यसपटक एमालेले यस वडामा चुनाव जित्ने दावी गरे । अध्यक्ष श्रेष्ठका अनुसार यस वडाको मुख्य समस्या शिक्षाध्ययनका लागि विद्यालयको अभाव, डुवान र वेरोजारीलाई जनताले उठाएका छन् । विगतमा रघुपति जुट मिल लगायतका अन्य उद्योगधन्दाहरू सञ्चालन भएको यस वडामा अहिले रोजगारीका आधारहरू नहुँदा यहाँका वासिन्दाहरू बेरोजगारी समस्याबाट आक्रान्त रहेको उनको भनाई छ । २०३० सालमा स्थापना भएको एकमात्र आदर्शस्कूलमा अहिले पनि ८ कक्षासम्ममात्र पठनपाठन हुँदा यहाँका स्थानीयले आफ्ना बालबालिकाहरूलाई उचित शिक्षा दिन नपाएको अवस्थामा एमालेले वडाको नेतृत्व लिएपछि यी तमाम समस्या क्रमशः समाधान हुने उमेदवारको प्रतिवद्धता रहेको उनले बताए ।

मतदालाई कसरी भोट खसाउने भन्ने विषयमा जानकारी गराउने कार्यक्रममा उम्मेदवार लगायत पार्टीका नेता कार्यकर्ता जुटेको उनको भनाई छ । त्यसरी नै वडा नं. १६ मा पनि एमालेले घरदैलो कार्यक्रम सकेको छ । आजै मेयर उपमेयर लगायत अन्य नेताहरूको सहभागितमा र्‍याली तथा कोणसभा सम्पन्न गरिएको पार्टी अध्यक्ष कुमार महर्जनले जानकारी दिए । यस वडामा ४०१९ जना मतदाता रहेको बताउँदै डुवानको समस्या समाधानप्रति स्थानीयको जोड रहेको उनले बताए । अबका बाँकी दिनमा आवश्यकता अनुसार कोणसभा र मतदाता शिक्षातर्फ प्रचार अभियान केन्द्रित रहने उनको भनाई छ ।

वडा नं. १५ मा पनि घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । वडाध्यक्षका उमेद्वार सूर्यनारायण महतोका अनुसार अबको चरणमा कोणसभा र मतदाताहरूलाई मतदानमा सहभागी भई भोट हाल्ने विषयमा जानकारी गराउने कार्यक्रम रहेको उनले बताए । वडा नं. १४ मा पनि घरदैलो कार्यक्रमको आजवाट समापन गरिएको छ । पार्टी अध्यक्ष राजकुमार महतोका अनुसार डुवान र नागरिकताको समस्याप्रति जनताको विशेष चासो रहेको छ । साथै अरु विकासका कार्यक्रमहरूमा पनि यो वडा उपेक्षित रहेको बताउँदै एमालेका उमेदवारहरूहरू विजयी भएपछि जनाताका समस्या सही ढङ्गले समाधान गर्ने आफ्नो पार्टीका उमेदवारहरूको प्रतिवद्धता रहेको उनले जनाए । यस वडामा ६२८० मतदाता रहेको बताउँदै उनीहरूलाई मतदान शिक्षा दिने एमालेको कार्यक्रम रहेको जानकारी महतोले गराए ।

वडा नं. १४ मा शुक्रवारदेखि घरदैलो सकेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना बनेको वडाध्यक्षका उमेदवार किशोर पोखरेलले जानकारी दिए । पाँचहजार एकसय पाँच मतदाता रहेको यस वडामा पार्टीका नेता तथा उमेदवारहरूको सहभागितामा विभिन्न ठाउँमा कोणसभाहरू पनि सम्पन्न भएका छन् । विराटनगरका तमाम नागरिकहरूको अपेक्षा जस्तै यस वडामा बाटोघाटो, डुवान लगायतका समस्या समाधान गर्न वडामा एमालेको नेतृत्व आउनुपर्ने जनअपेक्षा रहेको उनले बताए । वडा नं. १२ का वडाध्यक्ष भोला बरालको चुनावी अभियानमा जुटेका सहयोगी अनिल साहकालका अनुसार शुक्रबार मध्यान्हसम्म घरदैलो कार्यक्रम सम्पन्न हुनेछ ।

उनका अनुसार डुवान नियन्त्रण, बाटोघाटो निर्माण तथा मर्मत, खानेपानीको उचित व्यवस्थापन, शिक्षामा सर्वसाधारणका बालबालिकाको पहुँच, स्वास्थ्यमा सर्वसाधारणको सहज पहुँच हुनुपर्ने जस्ता विषयहरू जनताले उठाएको उनले बताए ।
घरदैलो कार्यक्रममा अध्यक्षका उमेदवार बरालले आफू वडाको नेतृत्वमा पुगेपछि समस्याहरूको पहिचान गरी समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरेको सहयोगी अनिलले बताए । वर्षादको समय आउँदै गर्दा हुने सम्भावित डुवानको खतरा न्यूनीकरण र उचित विपद् व्यवस्थापनका लागि पनि जनताले उमेदवारहरूको ध्यानाकर्षण गराएको पार्टीका वडाध्यक्ष भानुभक्त पाठकले जानकारी गराए ।

नगरका अन्य वडाहरूमा विहीवार अपरान्हसम्म घरदैलो कार्यक्रम जारी रहेको सम्वन्धित वडाबाट जानकारी प्राप्त भइरहेकाले सो सम्वन्धी विवरण क्रमशः उपलव्ध हुनेछ ।

आध्यात्मिकता विकासमा ध्यान दिने थापाको प्रतिवद्धता
नेकपा (एमाले) विराटनगरका मेयरका उमेदवार सागर थापाले तनावबाट मुक्त रहन आध्यात्मिक चिन्तन जरुरी भएको बताएका छन् ।

उनले विहीबार विराटनगर वडा नं. ३ ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको कञ्चनवारीमा आयोजित कार्यक्रममा आध्यात्मिकता विना मानव जीवन अनुशासित र व्यवस्थित नहुने धारणा राखे । हरेक मानिसको जीवनचर्या व्यस्त र तनावग्रस्त हुनेभएकाले स्वस्थ र शान्त वातावरणमा जिउन सिकाउने ब्रह्माकुमारी राजयोग केन्द्रजस्ता आध्यात्मिक संस्थाहरूको प्रवद्र्धन र संरक्षण जरुरी रहेको थापाले बताए । उनले आफूले महानगरपालिकाको नेतृत्व आएपछि यस्ता निकायहरूको स्तरोन्नतीमा ध्यान दिने प्रतिवद्धता प्रकट गरे । त्यसैगरी उपमेयरका उमेदवार शिल्पा कार्कीले पनि आध्यात्मिक चिन्तनको आवश्यकता र महत्व रहेको उल्लेख गर्दै हरेकको तनाव व्यवस्थापनमा ब्रह्मकुमारी राजयोगले सञ्चालन गरेका गतिविधिहरूको प्रशंसा गरिन् ।

वडा नं. ३ का वडाध्यक्षका उमेदवार बासु बस्नेतले पनि ब्रह्मकुमारी राजयोग केन्द्रले सम्पादन गर्ने मानवहितका अभियानहरूको महत्वपूणर् भूमिका रहेको धारणा राखे । केन्द्रकी प्रमुख रमादिदीले मेयर उपमेयर लगायत सहभागीहरूलाई धन्यवाद र शुभकामना दिँदै आध्यात्मिकता विकास र संरक्षणको मार्गमा समाहित हुन आह्वान गरिन् । निर्वाचन प्रचार अभियानका सन्दर्भमा घरदैलो कार्यक्रममा सरिक हुँदै नगरका विभिन्न ठाउँमा पुग्ने क्रममा मेयरका उमेदवार थापा उपमेयरका उमेदवार कार्की आजै विराटनगर १७ को घरदैलोमा सहभागी भएर मत मागे ।
आफ्नो पार्टीले अघि सारेको प्रतिवद्धता पत्र अनुसार इमान्दारपूर्वक काम गर्ने उनीहरूले अठोट व्यक्त गरे । जनता सामू आफूहरू विराटनगरको विकास अभियान निष्ठापूर्वक जुट्ने प्रतिवद्धता जाहेर गरे । शिक्षा, स्वास्थ्य, खानेपानी, डुवान नियन्त्रण, सरसफाई, नागरिकता समस्या जस्ता आधारभूत समस्या समाधन गर्न आफूहरू इमान्दारपूर्वक लाग्ने मेयरका उमेदवार थापाले जनतासमक्ष प्रतिवद्धता दोहोर्‍याए ।
आज विराटनगर-१६ मा आयोजित कोणसभालाई सम्वोधन गर्दै थापाले आफू मेयरको उमेदवारमात्र नभई विकासको सारथी भूँईमान्छे भएकोले आफूलाई जनताको साथ रहेको धारणा प्रकट गरे ।
त्यसैगरी उपमेयरका उमेदवार शिल्पा कार्कीले कोणसभालाई सम्वोधन गर्दै आपूmहरू विजयी भएपछि विराटनगरको समग्र विकासको सारथी हुने प्रतिवद्धता व्यक्त गरिन् ।

विराटनगरका वन्द उद्योग सञ्चालन गर्ने थापाको अठोट
नेकपा एमालेकोबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार सागर थापाले बन्द अवस्थामा रहेका उद्योगहरू सञ्चालनमा ल्याउन अठोट व्यक्त गरेका छन् ।

विहीबार उद्योग संगठन मोरङले आयोजना गरेको ‘विराटनगरका मेयर पदका उम्मेद्वारसँगको आर्थिक बहस’ कार्यक्रममा थापाले नयाँ सोच भएका युवाहरूलाई उद्योगमा आकर्षित गर्ने र बन्द अवस्थामा रहेका उद्योग सञ्चालनको लागि पहल गरेर रोजगारी सिर्जना गर्ने बताए । महानगरले प्रदेश तथा संघीय सरकारसँग समन्वयकारी भूमिका खेल्न नसकेको बताउँदै उनले आफू निर्वाचित भएको अवस्थामा जुन सरकार भएपनि प्रभावकारी रुपमा समन्वयकारी भूमिका निर्वाह गरेर महानगरको विकासमा जोड दिने उनको भनाई थियो ।

महानगरभित्रको सम्पूणर् सेवा सुविधा डिजिटल बनाएर काम गर्ने थापाले बताए । विराटनगरको पहिलाको साख फिर्ता ल्याउनको लागि योजनाबद्ध रुपमा काम गर्ने पहिलो प्राथमिकता रहने जनाए । महानगरको स्वास्थ्य, शिक्षा, सरसफाई, सामाजिक, आर्थिक सबै क्षेत्रको विकासमा महानगरका जनताका लागि जनमुखी काम गर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्