मोरङको निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ : सेनाको हवाई गस्तीदेखि बोर्डर सिलसम्म

मोरङको निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ : सेनाको हवाई गस्तीदेखि बोर्डर सिलसम्म

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याउने भएको छ ।

निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन बैशाख २७ देखि प्रशासनले उक्त एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याउने भएको हो । जसअनुसार निर्वाचनलाई शान्तिपुुर्ण बनाउन मोरङमा करिब ६ हजार सुरक्षाकर्मीहरुको टोली परिचालन गरिनेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान आयोग र म्यादी प्रहरीको उक्त संयुक्त टोलीले जिल्लाभर रहेका ३०० मतदान स्थलको ८०० मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्नेछन् । सुरक्षाकर्मीहरुको उक्त संयुक्त टोलीले मतदान केन्द्रको सुरक्षाका साथै संवेदनशील भनी पहिचान गरिएका क्षेत्रहरुमा आवश्यक निगरानी र कडाई समेत गर्नेछन् । त्यसका लागि निर्वाचन सेल र कमाण्ड पोस्ट समेत गठन गरिएको छ ।

निर्वाचनलाई केन्द्रित गर्दै जिल्लामा सुरक्षा समिति पनि गठन गरिएको मोरङ प्रशासनले जनाएको छ । प्रशासनका अनुसार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको संयोजकत्वमा गठित उक्त समितिले जिल्लाभर कुन ठाउँमा कति सुरक्षाकर्मी खटाउने ? र कुन मतदान केन्द्रमा कस्तो सुरक्षा रणनीति अबलम्बन गर्ने ? लगायतका कार्य गर्नेछ ।

मतदाताहरुलाई शान्ति सुरक्षाको प्रत्याुभति दिलाउन मोरङमा नेपाल प्रहरीबाट १ हजार ९७२, म्यादी प्रहरीबाट ३ हजार १२४, सशस्त्र प्रहरीबाट ६८६ र राष्ट्रिय अनुसन्धानबाट ५० जनाको जनशक्ति परिचालन गर्ने तयारी रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । नेपाली सेनाले भने अवस्था बिश्लेषणको आधारमा आवश्यकता अनुसार आफ्नो टोली परिचालन गर्ने उनले जानकारी दिए । ‘टोलीले मतदानस्थल र मतदान केन्द्रलाई लक्षित गर्दै गस्ती र पेट्रोलिङको कार्य गर्नेछ,’ उनले भने, ‘त्यसबाहेक मतदान स्थलमा शान्ति सुरक्षाको प्रत्याभूत गराउने, त्यहाँको भूगोल, जनसंख्या र मनोविज्ञान बुझ्ने तथा सुरक्षा चूनौती बिश्लेषण गरी माथिल्लो निकायमा फिडब्याक दिने जिम्मेवारी पनि टोलीकै हुनेछ ।’

आसन्न निर्वाचनलाई भयरहित र शान्तिपुर्ण बनाउन नेपाली सेनाको हवाई गस्तीको पनि प्रबन्ध मिलाईएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । प्रशासनका अनुसार भौगोलिक रुपमा विकट र भारतसँग सीमाना जोडिएका स्थानीय तहका मतदान स्थलहरुमा सेनाले हेलिकप्टरबाट बिशेष निगरानी गर्नेछ । केराबारी, कानेपोखरी र मिक्लाजुङ लगायतका विकट ठाउँहरुमा तुलनात्मक रुपमा सुरक्षाकर्मीहरुको उपस्थिति पनि बाक्लो बनाईने जनाईएको छ । निर्वाचनमा मतदान अधिकृतद्वारा नियुक्त गरिएका २४६० जना स्वयंमसेवकहरु समेत परिचालित रहने मोरङ प्रशासनको जानकारी छ ।

यस्तै, मतदान केन्द्र्रमा हुनसक्ने अवाञ्छित तथा उच्छृङ्खल गतिविधि नियन्त्रणका निम्त्ति मोरङ प्रशासनले निर्वाचन हुनुभन्दा ७२ घण्टा अगावै बोर्डर सिल गर्ने निर्णय समेत गरेको छ । अत्यावश्यक बाहेकको अवस्थामा ओहोरदोहोर गर्न नपाईने गरी बैशाख २७ देखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि बोर्डर सिल गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनले भने, ‘सीमा सिल हुँदा औषधी÷उपचार र अन्य अत्यावश्यक कार्य बाहेकको अवस्थामा आवतजावत गर्न पाईंदैन् ।’

भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिष्टे«टसँग मोरङ र सुनसरी जिल्लाका सिडियोको बिहीबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको जनाईएको छ । बैशाख ३० गते हुने निर्वाचनमा भने मोरङका १७ वटै स्थानीय तहहरुबाट विभिन्न पदमा कुल ४ हजार ३ सय ४६ जनाले उम्मेदवारी दिएका छन् । जसमा पालिका प्रमुखमा ७४, उपप्रमुखमा ७०, गाउँपालिका अध्यक्षमा ६०, उपाध्यक्षमा ४८, वडाध्यक्षमा ९६२, सदस्यमा १ हजार ६४०, महिला सदस्यमा ७७० र दलित महिला सदस्यमा ७२२ जनाको उम्मेदवारी परेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मोरङमा कुल दर्ता राजनितिक दलहरुको संख्या ३९ छ । तर, उम्मेदवारी फिर्ता लगायतका कारणले हाल निर्वाचनमा २२ वटा दलहरु सहभागी छन् ।

मोरङमा कुल मतदाताहरुको संख्या भने ७ लाख १५ हजार २२३ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्