विराटनगरमा तालमेल नमिलेको गठबन्धन

विराटनगरमा तालमेल नमिलेको गठबन्धन

विराटनगर । ‘अहिले पनि कार्यकर्ताले एउटा प्रश्न सोधिरहेका छन्, हामीले भोट कुन चिन्हमा हाल्ने ?’ नेकपा माओवादी केन्द्रका विराटनगर सह–इन्चार्ज भोगेन्द्र यादवले सत्ता गठबन्धनबाट विराटनगरका मेयर र उपमेयरसहित नेताहरु उपस्थित रहेको कार्यक्रममा आफ्नो गुनासो राखे । सत्ता गठबन्धनबाट काँग्रेसका नागेश कोइराला मेयर र जनता समाजवादी पार्टीका अमरेन्द्र यादव उपमेयरको उमेदवार बनेर विराटनगरको चुनावी मैदानमा छन् ।

नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीबीच विराटनगरमा भएको गठबन्धनको तालमेल नमिल्दा सह–इन्चार्ज यादवले यस्तो गुनासो सुनाएका हुन् । पार्टीका केन्द्रीय सदस्यहरु अमृत अर्याल, डा.डिला संग्रौला, महेश रेग्मी, जयराम यादवसहितको उपस्थितिमा विराटनगरमा सत्ता गठबन्धन दलका नेताहरुले शुक्रबार साँझ पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए ।

उक्त कार्यक्रममा सत्ता गठबन्धन भित्रको तालमेल नमिलेको स्पष्ट देखिन्थ्यो । माओवादी केन्द्रका सहइन्चार्ज यादवले अझै समय घर्किनसकेको बताउँदै काँग्रेसले केहि वडा माओवादीका लागि छुट्याउनु पर्ने माग राखेका थिए । उनको मागलाई सुनेका काँग्रेस नेताहरुले भने त्यसको जवाफ दिन चाहेनन् । यादवले आफ्नो धारणा राख्ने क्रममा केन्द्रले गरेको सहमति कार्यन्वयन गर्न तयार भएपनि विराटनगरमा काँग्रेसले नेतृत्व लिन नसक्दा गठबन्धनको तालमेल नमिलेको आरोप लगाएका हुन् । उनले कार्यकर्तालाई आश्वस्त पारेर सत्ता गठबन्धनका उमेदवारलाई मत खसाल्ने वातावरण तयार पार्नका लागि महानगरका ४ वडाका अध्यक्षमा सहमति दिनुपर्ने माग दोहो¥याएका थिए ।
एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले भने अहिले भाग पाए पनि नपाएपनि सत्ता गठबन्धनप्रति इमान्दार देखिने धारणा राखेका थिए । उनले विराटनगरमा भने जस्तो नभएको गुनासो भने राखे । काँग्रेसकै केन्द्रीय सदस्य तथा निर्वतमान मेयर भीम पराजुलीले चुनावी दौरानमा आफ्नो भूमिका खोजेका थिए ।

पराजुलीले निर्वाचनमा सत्ता गठबन्धनले नजित्नुपर्ने कारण नभएको बताउँदै तर केहि प्राविधिक विषय मिलाउनु पर्ने तर्क गरेका थिए । त्यस्तो विषय मिलाउनु पर्ने भए आफूले पनि सहयोग गर्ने तर त्यसका लागि उमेदवारले वातावरण मिलाउनु पर्ने बताएका थिए ।
सत्ता गठबन्धनको नाममा विराटनगरको पुष्पलाल चौकमा आयोजित सभामा माओवादी, एस र जसपालाई समेत बाईपास गरेर आमसभा गरेको काँग्रेसले शुक्रबार साँझ सबैलाई समेट्ने प्रयास गरेको थियो । तर, पत्रकारसँग उमेदवारको अन्तरक्रिया कार्यक्रममा दलका नेताहरुले अहिलेसम्म राजनीतिक विषय नटुङ्गिएको जनाउ दिएका हुन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जयराम यादवले विराटनगरको दक्षिणी क्षेत्रमा मतदान गर्ने विषयमा मतदाता शिक्षा आवश्यक रहेको भन्दै काँग्रेसका नेताहरुलाई घच्घच्याउने प्रयास गरेका थिए । विराटनगरको दक्षिणी क्षेत्रमा जनता समाजवादी पार्टी त्यागेर स्वतन्त्र बनेका उमेदवार उमेश यादव र एमालेको प्रभाव राम्रो बन्दै गएको संकेत यादवले गरेका हुन् ।
सत्तागठबन्धनका तर्फबाट मेयरका उमेदवार नागेश कोइरालाले आफ्नो जीतमा विराटनगर समृद्ध हुने दावी त्यस क्रममा गरेका थिए । उनले गठबन्धन मिलाउने समयमा आफू टिकट लिन काठमाण्डौं भएको भन्दै त्यसको जवाफ दिन चाहेनन् । जसपाबाट उपमेयर बनेका अमरेन्द्र यादवले एमालेबाट उपमेयरको उम्मेदवार शिल्पा निराला कार्कीले किर्ते कागजात पेश गरेको आरोप लगाए । उनले विराटनगरमा सत्ता गठबन्धनले जित्नेमा विश्वस्त रहेको बताए ।
नेपाली काँग्रेसका विराटनगरमहानगर सभापति दिपक चापागाँईले बाहिरी हल्ला चलेजस्तो समस्या नभएको दावी गरेका थिए । उनले सत्तागठबन्धनबीचको सम्बन्ध सुधार हुँदै गएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्