विराटनगरमा माओवादी केन्द्रको चुनावी दौड

विराटनगरमा माओवादी केन्द्रको चुनावी दौड

विराटनगर । विराटनगरमा नेपाली काँग्रेसले कमजोर ठानेको माओवादी केन्द्रले वडास्तरको चुनावी मैदान मात्रै पाएको छ । केन्द्रको सहमति अनुसार मेयर र उपमेयरमा सत्ता गठबन्धन काँग्रेस र जसपाका मात्रै उमेदवार छन् । मेयर र उपमेयरमा काँग्रेसका नागेश कोइराला र जसपाका अमरेन्द्र यादव छन् । मेयर पाएको काँग्रेसले हेला गरेको माओवादी केन्द्र विराटनगरका १५ वटा वडामा उमेदवारी दिएर चुनावी सरगर्मीमा सहभागी छ ।

विराटनगरका वडामा समेत माओवादीलाई नपत्याएको काँगेसलाई यतिबेला वडास्तरको चुनावी माहौल देखेर हैरान बनाएको छ । सुरुमै भाउ नदिदाँ माओवादीको मत कता जान्छ ? भनेर आत्तिएको काँग्रेसले महानगरस्तरका नेतासँग सामिप्यता बढाउँदै लगेका छन् । तर, नेकपा माओवादी केन्द्रका महानगर अध्यक्ष नविन पौडेलले अपमान गरेको भएपनि गठबन्धनप्रति माओवादी जिम्मेवार बनेर मतदानमा सरिक हुने बताएका छन् । विराटनगरका सातवटा वडामा माओवादीको चुनावी माहौल निक्कै राम्रो देखिएको छ ।

अध्यक्ष पौडेलका अनुसार विराटनगर–४ का जीसस न्यौपाने, विराटनगर–६ विजय कामत, विराटनगर–५ भरत गिरी, विराटनगर–१८ सोनु केवट, विराटनगर–१४ बिनोद यादव, विराटनगर–८ ज्ञानु भट्टराई र विराटनगर–१ चन्द्र वन महानगरमा जित नजिक रहेका उमेदवार हुन् । विराटनगरमा २०७४ सालमा वडा नम्बर ६ मा विजय कामत विजयी भएका थिए । उनी निर्वाचित वडामा अहिले पनि साख जोगिनेमा पार्टीपंक्ति विश्वस्त छ ।

त्यस बाहेकका वडामा समेत चुनावी सन्देश सकारात्मक रहेकोले माओवादीले अन्य वडालाई समेत कभर गर्नसक्ने देखिएको छ ।
विराटनगर–४ का जीसस न्यौपानेले यस पटक मतदाताको विश्वास पाउने आसा व्यक्त गरेका छन् । घरदैलो कार्यक्रममा देखिएको उत्साहले न्यौपानेलाई आसा जगाई दिएको हो ।
यसैगरी विराटनगर–१४ का बिनोद यादवले यस पटक वडाका मतदाताले माओवादीलाई रोज्ने ईच्छा राखेको दावी गरेका छन् । जतुवा क्षेत्रमा माओवादी केन्द्रको संगठन विस्तार राम्रो भएका कारण जीत हाँसिल गर्नेमा उनी विश्वस्त छन् । विराटनगर–५ का भरत गिरीले अहिलेसम्म मतदाताको माया पाएकोले जीत हाँसिल गर्ने दावी गरेका छन् । साविक विजयी वडा ६ नम्बर वडामा विजय कामत लोकप्रिय मानिएका छन् ।
विराटनगर–१८ का उमेदवार सोनु केवट स्थानीयस्तरमा कहलिएका व्यक्ति भएकोले मतदाताको मन जित्ने विश्वास माओवादी पार्टीले लिइएको छ । धेरै वडामा माओवादीका उमेदवारको चर्चा सकारात्मक भएसँगै गठबन्धन भित्रका दलहरुले समेत अहिले नजिक राख्ने प्रयत्न सुरु गरेका हुन् । केहिदिन अगाडी इष्टर्न स्टार होटलमा काँग्रेसले आयोजना गरेको पत्रकारसँगको कार्यक्रममा माओवादीका सहइन्चार्ज भोगेन्द्र यादवले अहिले पनि केहि वडा दिनुपर्ने अडान दोहो¥याएका थिए । जसको झस्का मेयरको उमेदवारी दिइएको काँग्रेसलाई परेको छ । तर, काँग्रेसले कम आँकेपछि माओवादीले चुनावी तयारीलाई वडास्तरमा केन्द्रीत गरेर व्यापाक बनाउने अवसर पाएको माओवादी नेताहरुको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्