कस्तो मेयर चाहन्छन् विराटनगरवासी

कस्तो मेयर चाहन्छन् विराटनगरवासी

विराटनगर । निर्वाचन नजिकीएसँगै विराटनगरमा मेयर र उपमेयरसहित जनप्रतिनिधि कसलाई निर्वाचित गर्ने मतदातामा चासो बढ्दै गएको छ । दलिय रुपमा सक्रिय कार्यकर्ता तथा शुभेक्छुकहरु निर्वाचन अभियानमा सरिक भईरहेका छन् । तर, निर्वाचन आउन चारदिन बाँकी छँदा स्वतन्त्र तवरले मतदान गर्न बसेका मतदातामा समेत कसलाई मतदान गर्ने भन्ने विषयमा चाख बढ्दै गएको छ ।

स्थानीय तह निर्वाचन हुन अब चार दिन बाँकी छ । आफ्नो पक्षमा मतदाता आकर्षण गर्न उमेदवारले घरदैलोमा पुग्ने समय अन्तिम हुँदैछ । स्थानीय तहको प्रमुख वा उपप्रमुखको उमेदवार बनेकाहरुले आफ्ना एजेण्डा लिएर मतदातासम्म पुगिसकेका छन् । मतदाताले दलका एजेण्डा हेरेर मेयर र उपमेयरसहित वडामा अध्यक्ष र चारजना सदस्यलाई मतदान गर्नेछन् । यो उनीहरुको अधिकार हो । दलका उम्मेदवारले आजसम्म निर्वाचनमा प्रस्तुत गरेको एजेण्डा व्यवहारतः कार्यन्वयनमा आएको छैन । यो विषय पनि मतदाताले बुझिसकेका छन् । निर्वाचनको समयमा सबै थोक गर्नसक्ने आवश्वासन दिएपनि पाँचवर्षमा केहि परिवर्तन नगरि निस्कने प्रवृत्तिको शिकार मतदाता भईसकेका छन् । त्यसैले एजेण्डा भन्दा पनि व्यक्तिको स्वभावका बारेमा मतदाताले बुझ्न चाहेको पाइन्छ ।

विराटनगरमा अहिले दलहरुले अगाडी सारेका मेयरका उम्मेदवारमध्ये कसलाई मतदान गर्ने भन्ने विषय दलमा आवद्ध नभएका मतदाताबीच यहि बहस सुरु भएको छ । नेपाली काँग्रेसबाट नागेश कोइराला, एमालेबाट सागर थापा, स्वतन्त्र उमेदवार उमेश यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रल्लाहद साह विराटनगरमा चर्चामा आएका नाम हुन् । मतदाताले विराटनगरको मेयरमा कस्तो व्यक्ति चाहन्छन् ? अहिले चिया पसलदेखि घरपरिवारसम्म यहि चर्चा चुलिएको छ । दलसँग आवद्ध मतदाताले आफ्नो पक्षका मेयर निर्वाचित भए सहजै महानगरमा पहुँच पाउँछन् । उनीहरुलाई सामान्य नागरिकलाई जस्तो असहज हुँदैन । तर, स्वतन्त्र रुपमा सामान्य नागरिकको हैसियतले दलका उमेदवारलाई नै मतदान गर्नेहरुका लागि कस्तो स्वभाव भएको व्यक्ति मेयरको रुपमा निर्वाचित भए सहज हुन्छ भन्ने बहस विराटनगरका लागि यस पटक निक्कै चलाइएको विषय हो ।

विराटनगर–३ कन्चनबारी चौकको चिया पसलमा भेटिएका एकजना मतदाताले भने–निर्वाचित भएर महानगरपालिकाको जिम्मेवारी सम्हालेपछि नागरिक पुग्दा भेट्न पाइने मेयर आवश्यक छ । उनले थपे, महानगरपालिकामा मेयरको कार्यकक्ष पारदर्शी हुनुपर्छ, भित्री कोठामा गएर गरिने गफले साँठगाँठको संकेत गर्छ । मतदाताले महानगरको न्यून आय परिचालन र अनावश्यक प्रशासनिक खर्च कटौती कार्यन्वयन गर्नसक्ने मेयर खोजेका छन् । विराटनगर–१० निवासी मधु कुसवाहले पारदर्शिता छल्ने उमेदवारलाई भोट हाल्न नहुने बताइन् । उनले भनिन्, विराटनगर जस्तो शहरको साख फर्काउने सबै नागरिकलाई समान व्यवहार गर्ने मेयर जरुरी छ ।

विराटनगरमा मूल पार्टीबाट उम्मेदवार बनेकामध्ये काँग्रेसका कोइराला प्रशासनिक रुपमा नयाँ मानिन्छन् । एमालेका सागर थापा यस अगाडी महेन्द्र मोरङ क्याम्पसमा स्ववियु सभापति भएर राजनीतिक तथा प्रशासनिक विषय बुझेकामा पर्दछन् । थापाले क्याम्पस प्रशासन बुझेको अनुभवलाई महानगरमा थोरै प्रयोग गर्न सक्छन्, तर जस्तोका त्यस्तै कार्यन्वयन गर्न सक्दैनन् । स्थानीय तहको प्रशासन र क्याम्पस प्रशासन फरक क्षेत्र हुन् । तर, थोरै भएपनि बुझेको व्यक्तिको रुपमा उनलाई लिनुपर्ने विराटनगरका बौद्धिक व्यक्ति गुणराज ढुंगेलले आफ्नो फेसबुक पेजमा थापाको प्रशंसा गर्दै उल्लेख गरेका छन् ।

मतदाताले थोरै प्रशासन बुझेको राजनीतिक व्यक्तिलाई नै महानगरको मेयरमा निर्वाचित गर्नुपर्ने धारणा राख्ने गर्दछन् । पाँच वर्षसम्म महानगरमा रहँदा विराटनगरका मतदाताको समस्यालाई समाधान गर्ने मात्रै नभई धेरै किसिमका गतिविधिको समन्वय गर्नसक्ने मेयर जरुरी ठानेका हुन् । विराटनगरको ठूलो समस्या फोहोर व्यवस्थापन र डुबान क्षेत्रबाट नागरिकलाई राहत दिनु हो । त्यसका लागि योजनावद्ध विकासको खाँचो अझै उस्तै छ । विकासका नाममा बनेका बाटाहरु अहिले निकास बिनाको हुँदा वर्षेनी सास्ती बेहोर्न नागरिक बाध्य छन् ।

विराटनगरका एक मारवाडी युवाले कार्यकक्षमा पुग्दा मेयरसँग बोल्न डर नमान्ने खालको व्यक्ति आवश्यक परेको धारणा राखे । उनले भने प्रवेशमै अनुमति नपाउने र प्रवेश अनुमतिपछि मेयरसँग आफ्ना गुनासो राख्दा एक मिनेट सुन्नसक्ने व्यक्ति चाहिन्छ । उनले थपे, त्यस्ता मेयर तत्कालिन समस्या हल गर्न खोज्छ र दिर्घकालिन योजना बुन्छ ।

सामान्य जीवनमा व्यक्तिसँगको सम्बन्ध र सामिप्यताले पनि मेयरका दाबेदारप्रति मतदाताको भावना जोडिने गरेको छ । एक लाख ३३ हजार १४२ मतदाता भएको विराटनगर सम्हाल्ने व्यक्ति सरलसँगै सहज हुनुपर्ने विराटनगरका राधाकृष्ण ढुंगानाको बुझाई छ । सबैको बारेमा सुनिरहेको र बुझिरहेको छु, तर जो सहज र सरल छ भन्ने सुनेको छु उसैलाई भोट दिन्छु, ढुंगानाले भने–सामान्य नागरिकका कुरा कसले सुन्नसक्छ भन्ने कुरा निर्वाचनकै समयमा ख्याल गर्नुपर्ने रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्