विराटनगर । पूर्वाधार निर्माणका लागि आर्थिक वर्षको अन्त्यमा जुर्मुराउने र गुणस्तरहीन काम गर्दै आलोचित हुने चलन विराटनगरका लागि पुरानो हो ।
बजेट सिध्याउन हतारमा निमार्ण गरिएको पूर्वाधार गुणस्तरीय नबन्ने विज्ञहरुले बताउँदै आएका छन् । यसरी भएका कामको परिणाम विराटनगरमै पनि राम्रो देखिएको छैन । विराटनगरमा पक्की सडक भासिएको, कल्भर्टमा प्वाल परेको र भर्खरै निमार्ण भएका नालाहरु महिनादिन नबित्दै भत्किएको दृश्यहरु बर्षेनि देखिने गरेको छन् । सर्वसाधारणले पनि आलोचना गर्दै आएका छन् । यद्यपि, ती चौतर्फी आलोचनाका बाबजुद महानगरको एक वडाले अव्यवस्थित र मापदण्ड विपरित निमार्ण कार्यलाई एकपटक पुनः निरन्तरता दिएको पाईएको छ ।
विराटनगर–११ स्थित बुद्धबिहार मार्गसँग जोडिएको उत्तर–दक्षिण शाखा सडकखण्डमा महानगरले बिजुलीको पोल व्यवस्थापन नगरी नाला निमार्ण र सडक विस्तारको कार्य अघि बढाएको छ । स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल सकिएको र बैशाख ३० गतेको निर्वाचन पश्चात नयाँ जनप्रतिनिधी छनौट भएका आउने भएपछि बजेट खर्चिने अन्तिम मिति जेठ मसान्तसम्म मात्र भएकाले वडाले हतारहतारमा सडक र नाला विस्तार थालेको हो । करिब अढाई सय मिटर लम्बाईको उक्त सडकमा बिजुलीको पोल स्थानान्तरण नगरी नाला निमार्ण सुरु गरिएको छ । सडकमा योजनाको सुचना पाटी समेत राखिएको छैन् । वडा कार्यालयले पनि गोप्य रुपमा उपभोक्ता समिती गठन गरेर मापदण्ड विपरित निमार्ण कार्य अघि बढाएको स्थानीय बताउँछन् ।
करिब १० दिन अघिदेखि सुरु भएको उक्त निमार्ण कार्य हाल स्थानीयको अवरोधका कारण रोकिएको छ । निमार्ण कार्यमा व्यापक अनियमितता भएको पाएपछि गएको बुधबार स्थानीयले मापदण्ड अनुरुप सडक र नाला विस्तार हुनुपर्ने माग सहित विरोध गरेका थिए । स्थानीयको विरोध पश्चात महानगरको निर्देशनमा बिहीबारदेखि उक्त सडकमा जारी निमार्ण कार्यमा रोक लगाईएको हो । वडा कार्यालयले उपभोक्ता समिति मार्फत् कुल ११ लाखको बजेटमा उक्त सडक विस्तारको कार्य अघि बढाएको थियो । स्थानीय डिल्लीराम न्यौपानेको अध्यक्षतामा गठित समितिले नाला र सडक विस्तारको काम थालेको थियो । तर, समितीका अध्यक्ष न्यौपानेले निमार्ण कार्य सुरु भएको दुईदिन नबित्दै नियम विपरित समितिका सदस्य समेत नरहेका स्थानीय राधेश्याम कामतलाई योजनाको सम्पुर्ण जिम्मा दिएपछि निमार्णमा थप अनियमितता थपिएको स्थानीय प्रदीप देवानले बताए ।
स्थानीय राधेश्याम वडा नं. ११ का पूर्व वडा सदस्य श्यामसुन्दर कामतका आफ्नै भाई हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधिमा उपभोक्ता समितिले सम्झौता बमोजिम गर्नुपर्ने काम आफैले गर्नु गराउनुुपर्ने तथा कुनै निमार्ण व्यावसायी, व्यक्ति वा संस्थालाई योजनाकोे ठेक्का दिन नपाईने भनी उल्लेख गरिएको छ । तर, समितिका अध्यक्ष न्यौपानेले उक्त नियम मिचेर स्थानीय राधेश्यामलाई योजनाको ठेक्का दिएको पाईएको छ । वडा नं. ११ का पूर्व वडा सदस्य श्यामसुन्दर कामत आफैले यसको पुष्टि गरेका छन् । उनले अब बिजुलीको पोल स्थानान्तरण गरी चुनाव पछि पुनः निमार्ण कार्य सुरु गरिने जानकारी दिएका छन् ।
यता, वडा नं. ११ को कार्यालयले भने बिजुलीको पोल व्यवस्थापनको सम्बन्धमा विद्युत प्राधिकरणलाई चिठी पठाईसकेको जनाएको छ ।