आज राती १२ बजेदेखि मौन अवधि सुरु हुँदै : के–के गर्न पाईदैन ?

आज राती १२ बजेदेखि मौन अवधि सुरु हुँदै : के–के गर्न पाईदैन ?

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत आज (मंगलबार) राती १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।

निर्वाचन प्रक्रियालाई सभ्य र मर्यादित बनाउन शुक्रबार राती १२ बजेसम्मका लागि मौन अवधि लागु हुने भएको हो । मौन अवधि सुरु भएपछि राजनीतिक दलहरुले चुनाव प्रचार गर्न र उम्मेदवारहरुले मतदातासँग मत माग्न पाउने छैनन् । मौन अवधिमा राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी र स्वतन्त्र उम्मेदवारहरुले कुनै प्रकारको प्रचारप्रसार गर्न/गराउन नपाउने विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मौन अवधिमा नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमहरु समेत कुनैपनि प्रकारको चुनावी प्रचार–प्रसारमा संलग्न हुन नपाईने व्यवस्था गरिएको छ ।

मौन अवधिको उल्लङ्घन भए उम्मेदवारको उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँसम्मको जरिवाना हुनसक्ने व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनले आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा मौन अवधि सुरु हुनु अगावै मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिन्ह तथा प्रचार सामग्री समेत हटाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।
यस्तै, मौन अवधिमा आयोगले एसएमएस, फेसबुक, भाईबर र व्हाट्सएप जस्ता सामाजिक सञ्जाल मार्फत् मत माग्न वा प्रचारप्रसार गर्न समेत रोक लगाएको छ । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलले निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला र ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न पाउँदैनन् । सञ्चारमाध्यमहरुले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नपाईने व्यवस्था गरिएको जनाईएको छ ।

मौन अवधिको समयमा पालना गर्नुपर्ने आचारसंहिता उल्लङ्घन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालना गर्न सचेत गराउनेछ । यद्यपि, आचारसंहिता बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे स्थानीय निर्वाचन ऐन, २०७८ अनुरुप आयोगले उम्मेदवारी रद्द गर्न सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्