चुनावका दिन यी व्यक्तिहरुलाई सवारी पास चाहिँदैन

चुनावका दिन यी व्यक्तिहरुलाई सवारी पास चाहिँदैन

विराटनगर । बैशाख ३० हुने स्थानीय तह निर्वाचनका दिन अनुमति प्राप्त बाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएका छन् ।

मतदानका दिन मुख्य निर्वाचन अधिकृत वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त बाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएका हुन् । मंंगलबार एक सूचना जारी गर्दै मोरङ प्रशासनले मतदानका दिन जिल्ला प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन आयोगबाट अनुमति प्राप्त सवारीसाधन मात्र सञ्चालन हुन पाउने जनाएको छ । जारी सुचनामा भनिएको छ, ‘उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिलाई सम्बन्धित मुख्य निर्वाचन वा निर्र्वाचन अधिकृतबाट सवारी पास उपलब्ध गराईन्छ ।’

निर्वाचनका दिन शारीरिक रूपमा अशक्त व्यक्तिहरुले पनि मतदान स्थलसम्म आउजाउ गर्न अनुमति प्राप्त सवारीसाधनको प्रयोग गर्नुपर्ने मोरङ प्रशासनले जनाएको छ । प्रशासनका अनुसार त्यसरी आउजाउ गर्दा अशक्त व्यक्तिको साथमा आफ्नै परिवारको एकजना सदस्य रहन पाउनेछन् । चुनावका दिन पत्रकारहरुले समेत पत्रकार महासंघको सिफारिसमा प्राप्त सवारी पासका आधारमा सवारीसाधन सञ्चालन गर्न पाउनेछन् ।

यस्तै संवैधानिक आयोग, तिनका जिल्ला तथा प्रदेश कार्यालयका प्रतिनिधि, कूटनीतिक नियोग र नियोगबाट खटिने अवलोकनकर्ता, आयोगबाट आमन्त्रित अतिथि, राष्ट्र संघीय नियोगका प्रतिनिधि, निर्वाचन आयोगले खटाएका अनुगमनकर्ता, साझेदार निकाय र अन्तराष्ट्रिय संघसंस्था लगायतले समेत निर्वाचन आयोगले पास लिनुपर्ने व्यवस्था गरिएको जनाईएको छ । अन्य सरकारी कार्यालय र निजी कार्यालहरूलाई भने नियमन गर्ने निकायको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउँछ । निर्वाचन आयोगले जारी गरेको सवारी साधन व्यवस्थापन मापदण्ड अनुसार सवारी अनुमति पत्र लिनका लागि वैशाख २८ गतेसम्म निवेदन दिइसक्नुपर्ने छ ।

निर्वाचनका दिन अत्यावश्यक सेवा तथा कुटनितिक आयोगका गाडीहरु भने निर्वाध रुपमा सञ्चालन हुने पाउने व्यवस्था गरिएको छ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दुरसञ्चार, शव वाहन, अस्पताल, विद्युत तथा निलो नम्बर प्लेट भएको कूटनीतिज्ञहरुको गाडीलाई सवारी पास आवश्यक नपर्ने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल बताउँछन् । उनका अनुसार निर्वाचनका दिन विदेशी नम्बर प्लेटका भने कुनैपनि सवारीसाधन प्रयोग गर्न पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्