विराटनगर उपमेयर पदकी उम्मेदवार कार्की विरुद्धको रिटको सुनुवाई आज हुने

विराटनगर उपमेयर पदकी उम्मेदवार कार्की विरुद्धको रिटको सुनुवाई आज हुने

विराटनगर । विराटनगर महानगरपालिका उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्की विरुद्ध परेको रिट उपरको सुनुवाई आज (बुधबार) हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट उपरको सुनुवाई हुने भएको हो । नेकपा (एमाले) बाट महानगर उपप्रमुख पदकी उम्मेदवार रहेकी कार्कीमाथि किर्ते कागजात पेश गरेर उम्मेदवारी सदर गराएको आरोप छ ।

सोही विरुद्धमा सर्वोच्चमा अदालतमा दायर भएको रिटमाथि अन्तरिम आदेश दिने वा नदिने भन्ने बिषयको निर्णय आजको इजलासले गर्नेछ । यसअघि बैशाख २२ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले रिटमाथि सुनुवाई गर्दै अन्तरिम आदेशबारे दुवै पक्षसँग छलफलपछि निर्णय गर्ने आदेश गरेको थियो । दुवै पक्षलाई राखेर छलफलपछि अन्तरिम आदेश गर्ने कि नगर्ने भन्ने निर्णय गर्नुपर्ने भन्दै फुयाँलको इजलासले आजको पेशी तोकेको थियो ।

फुयाँलकै इजलासले रिटको पूर्ण सुनुवाईका निम्त्ति १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश समेत गरिसकेको छ । उम्मेदवार कार्कीले बुझाएको किर्ते राजीनामाको कागजातको आधारमा जानाजान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी सदर गरेको भन्दै उम्मेदवारी बदर गराउन जसपाबाट उपमेयरका अर्का उम्मेदवार अमरेन्द्र यादवले कार्की विरुद्ध रिट दर्ता गरेका हुन् ।

निर्वाचन आयोगले आफै आचारसंहिताको निर्देशिका उल्लंघन गरेर कार्की विरुद्धको उजुरी सुनुवाई नगरेको भन्दै रिटमा आयोगलाई पनि विपक्षी बनाईएको छ । कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई महानगरको उपप्रमुखमा उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए ।

तर, निर्वाचन अधिकृतको कार्यालयले उजुरीकर्ताको मागदाबी नपुगेको भन्दै कार्कीको उम्मेदवारी सदर गराएपछि न्याय खोज्दै यादव सर्वाेच्च पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्