विराटनगरमा मौन अवधिको छैन पालना, कहलिएका नै उल्लंघन गर्छन्

विराटनगरमा मौन अवधिको छैन पालना, कहलिएका नै उल्लंघन गर्छन्

विराटनगर । मंगलबार रातीदेखी मौन अवधि सुरु भयो । निर्वाचन आयोग तथा सुरुक्षा निकायले मौन अवधिमा के गर्न हुने के गर्न नहुने भनेर सूचित पनि गरेको थियो ।

तर सामाजिक संजालहरुमा भने बुधबार बिहानदेखी खुलेर नै भोट मागिदै आएको छ । दुई दिन देखी भेला तथा र्‍यालीहरु बन्द भए पनि समाजका जिम्मेवारी व्यक्तिहरुबाट नै मौन अवधिका उल्लंघन भईरहेको छ । नेता तथा कार्यकर्ताहरुले सामाजिक संजालमा उमेदवारहरुको फोटो पोष्ट गर्दै भोट मागेको देख्न सकिन्छ ।

चौकसभा, बृहत भेला, रोकिएका छन् तर भोट माग्ने शैली भने फरक तरिकाले अपनाएर मौन अवधिको खिल्ली उडाईरहेका छन् ।
विराटनगरमा आफुलाई विद्धान र समाजसेवी मान्नेहरुको सामाजिक संजालमा हेर्नुभयो भने लाजमर्दो देखिन्छ । उनीहरुले सांकेतिक रुपमा भोट माग्ने किसिमले अपिल गरिहरेको देख्न सकिन्छ ।

सरकारले बैशाख ३० गते (भोलि) बेलुका ५ बजे सम्म फेसबुक वा सामाजिक संजालमा कुनै पनि प्रकारको उम्मेदवार लक्षित पोष्टहरु गर्न पाईने छैन भने स्पष्ट सुचना जारी गरिसकेको छ ।
विराटनगरमा ठूला पार्टी मानिएका नेपाल कम्यूनिष्ट पार्टी (एमाले) , नेपाली काँग्रेस, माओवादी केन्द्र , जनता समाजवादी पार्टी , एकिकृत समाजवादी लगायत स्वतन्त्र उम्मेदवारहरुले सामाजिक संजालमा सांकेतिक तथा कतिपयले खुलेर नै भोट माग्दै आएका हुन् ।

निर्वाचन आयोगले नेपाल प्रहरी, र नेपाली सेनालाई मौन अवधिभरी उल्लंघनको अनुगमन गरेर कारबाही गर्ने अधिकार दिएको छ । यता जिल्ला प्रशासन कार्यलय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने अहिले सम्म कुनै पनि सामाजिक संजालको कुरालाई लिएर उजुरी नआएको दावी गर्नुभयो । तर पनि यसबारे निगरानी भने निरन्तर रहिरने प्रजिअ दाहालले बताउनुभयो ।

सामाजिक संजालको निगरानी भने साईवर व्यूरोले हेर्ने भएका कारण निर्वाचन आयोगको कार्यलयसँग यस बारे छलफल गरी त्यस्तो भोट मागेका सामाग्री भेटिएर तत्काल हटाउन लगाउने दावी गरिएको छ ।

विराटनगरमा बुधबार भोटको अपिल गर्दै एसएमएस पठाइएको थियो । त्यस बारेमा निर्वाचन कार्यालयले सम्बन्धित मेयरका उम्मेदवारलाई मौखिक सचेत गराउँदै नेपाल टेलिकमलाई निर्वाचन प्रयोजनका कुनैपनि म्यासेज नपठाउन निर्देशन गरेको छ । निर्वाचन आयोग विराटनगर कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले एसएमएस पठाएको सूचना पाएपछि तत्काललै सम्बन्धित उम्मेदवारलाई मौखिक सचेत गराउँदै नेपाल टेलिकमलाई यस्ता सूचना नपठाउन भनिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्