मतदान गर्न तम्तयार विराटनगरवासी

मतदान गर्न तम्तयार विराटनगरवासी

विराटनगर । विराटनगर–८ अरुणमार्गमा चिया–नास्ता पसल सञ्चालन गर्दै आउनु भएका डिल्लीराम कोइराला शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न बिहानै पुग्ने योजनामा हुनुहुन्छ । सप्तकोशी बोर्डिङ्ग स्कूल केन्द्रबाट मतदान गर्नुहुने कोइराला आफ्नो मताधिकार प्रयोगमा उत्साहित हुनुहुन्छ ।

कोइरालाकै पसलमा खाजा खाईरहनु भएका विराटनगर–१४ का कमल यादव सिटी सफारी चालक हुनुहन्छ । उहाँले स्नातकोत्तर क्याम्पसबाट मताधिकारको प्रयोग गर्नुहुन्छ । ‘जीतेर जानेले काम गरे की गरेनन् भन्ने कुरा छोडेर भएपनि मतदान गर्न जान्छु’ यादवले भन्नुभयो–अघिल्ला निर्वाचन भन्दा यस पटक नेताहरुले कम आश्वासन बाँडेका छन्, जीतेर गएपछि केहि गर्लान् की !

मोरङको जहदा गाउँपालिका–१ दुर्गा मा.वि.बाट मतदान गर्नुहुने विरेन्द्र मण्डल विराटनगर–१० मा व्यवसाय गर्नुहुन्छ । उहाँले शुक्रबार मतदान गर्न जाने तयारीस्वरुप बिहीबार नै धेरै काम सक्नुपर्नेछ । ‘मतदान गर्ने दिन भएकोले पसल खोल्न सकिदैन, त्यहि भएर भोलिका केहि काम अहिले गरिरहेको छु’ मण्डलले भन्नुभयो–नागरिकले प्रयोग गर्ने मताधिकारका लागि उत्साहित भएर मतदान गर्नेछु ।

निर्वाचनका लागि उमेदवारहरुले घरदैलो सकेका छन् । मौन अवधिमा पनि मतदान केन्द्र निर्माण लगायतको तयारीले निर्वाचनको वातावरणमा उत्साह थपिरहेको छ । निर्वाचनको दिन मतदान गर्नका लागि नागरिक तम्तयार भएर प्रतिक्षामा देखिन्छन् ।
विराटनगर निवासी शोभा निरौलाले आफ्नो एक भोट प्रदान गरेर पाँचवर्षका लागि जनप्रतिनिधि चुन्ने अधिकारलाई सदुपयोग गर्ने बताउनुभयो । तर, मतको सदुपयोग जनप्रतिधिले नागरिकबीचमै गर्नुपर्ने उहाँको सुझाव छ ।

निर्वाचन आयोगले मतदाता परिचयपत्र, नेपाल नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र जग्गाधनी प्रमाणपूर्जाका आधारमा मतदान अधिकार दिने भएको छ । मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले उल्लेखितमध्ये कुनैपनि कागजात बोकेर जाँदा मताधिकारको प्रयोग गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्