विराटनगरमा निर्वाचनको सम्पुर्ण तयारी पूरा, मतदान भोली बिहान ७ बजेदेखि

विराटनगरमा निर्वाचनको सम्पुर्ण तयारी पूरा, मतदान भोली बिहान ७ बजेदेखि

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्त्ति प्रदेश नं. १ को राजधानी विराटनगरमा सम्पुर्ण तयारी पुरा भएको छ ।

मतदानलाई सभ्य, सुरक्षित र मर्यादित बनाउन विराटनगरको हकमा निर्वाचन केन्द्रित सम्पुर्ण तयारी पुरा भएको हो । निर्धारित मतदान स्थलहरुमा मतदान केन्द्र निमार्ण, निर्वाचन सामाग्रीको व्यवस्थापन, मतदाता परिचय पत्र वितरण र आवश्यक सुरक्षा प्रबन्ध लगायतका सम्पुर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदानका निम्त्ति ५९ प्रकारका निर्वाचन सामाग्री सहित कर्मचारीहरु सम्बन्धित मतदान केन्द्र खटिईसकेका छन् । मतदान प्रक्रियालाई सहज र व्यवस्थित बनाउन विराटनगरका प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ५ जना कर्मचारी खटाईएका छन् । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन विराटनगरका २९ मतदान स्थलको १४० वटै मतदान केन्द्रको सुरक्षा व्यवस्था पनि कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताएका छन् ।

शान्तिपुुर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न÷गराउन विराटनगर सहित मोरङमा करिब ६ हजार सुरक्षाकर्मीहरुको टोली परिचालन गरिएको छ । शुक्रबार हुने मतदानका दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान आयोग र म्यादी प्रहरीको उक्त संयुक्त टोलीले जिल्लाभर रहेका ३०० मतदान स्थलको ८०० मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्नेछन् । सुरक्षाकर्मीहरुको उक्त संयुक्त टोलीले मतदान केन्द्रको सुरक्षाका साथै संवेदनशील भनी पहिचान गरिएका क्षेत्रहरुमा आवश्यक निगरानी र कडाई समेत गर्नेछन् । त्यसका लागि निर्वाचन सेल र कमाण्ड पोस्ट समेत गठन गरिएको जनाईएको छ । यसपटकको निर्वाचन शान्तिपूर्ण र मर्यादित ढङ्गबाट सम्पन्न गर्न÷गराउन राजनितिक दलहरु पनि प्रतिबद्ध देखिएको विराटनगर–५ स्थित आधारभुत विद्यालय कोचाखाल (क) का मतदान अधिकृत दीपक पौडेल बताउँछन् ।

शुक्रबार हुने निर्वाचनलाई भयरहित र शान्तिपुर्ण बनाउन नेपाली सेनाको हवाई गस्तीको पनि प्रबन्ध मिलाईएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । प्रशासनका अनुसार भौगोलिक रुपमा विकट र भारतसँग सीमाना जोडिएका स्थानीय तहका मतदान स्थलहरुमा सेनाले हेलिकप्टरबाट बिशेष निगरानी गर्नेछ । मतदान केन्द्र्रमा हुन सक्ने अवाञ्छित तथा उच्छृङ्खल गतिविधि नियन्त्रणका निम्त्ति मोरङ प्रशासनले यसअघि नै अत्यावश्यक बाहेकको अवस्थामा ओहोरदोहोर गर्न नपाईने गरी बैशाख २७ गतेदेखि अन्तराष्ट्रिय सीमाना पनि सिल गरिसकेको छ ।

शुक्रबार मतदानका दिन पनि अनुमति प्राप्त बाहेकका सवारीसाधन सञ्चालन हुन पाउने छैनन् । निर्वाचनको मतदान प्रक्रिया भने शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म चल्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्