विराटनगर-५ मा चुनावको पुर्वसन्ध्यामा काँग्रेसले मतदातालाई पैसा बाँडेको आरोप

विराटनगर-५ मा चुनावको पुर्वसन्ध्यामा काँग्रेसले मतदातालाई पैसा बाँडेको आरोप

विराटनगर । स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आम मतदाताहरुलाई पैसा बाँडेको फेला परेको छ ।

विराटनगर-५ स्थित कारखाना टोलका मतदाताहरुलाई कांग्रेसबाट स्वयम् वडाध्यक्ष पदका उम्मेदवार रहेका सन्तोष न्यौपानेले पैसा बाँडेको स्थानीयले फेला पारेका हुन् । साँझ करिब साढे ५ बजेको समयमा उक्त घटना भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार नेपाली कांग्रेसका नेता प्रविण जोशीको प्रदेश ३-०१-०२२ च ४३८० नम्बरको कारमा नमूना मतपत्र सहित ३ जना पैसा बाँडदै गरेको अवस्थामा फेला परेका हुन् । नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, 'गाडीमा स्वयम् प्रविण जोशी, सन्तोष न्यौपाने र एकजना महिला थिइन् । हामीले सोधपुछ गर्दा औषधि बाँडन आएको हो बताए । पछि गाडी छोडेर सबैजना फरार भए ।'

यता, सन्तोष न्यौपानेले भने स्थानीयले जानकारी दिए अनुसारको कुनै घटना नभएको बताएका छन् । उनले जिल्लाको अनुगमन टोली मतदाताको घर पुग्दा स्थानीयले पैसा बाँडेको बुझेर होहल्ला गरेको जानकारी गराएका छन् । अनुगमन टोली बारे भने उनले थप खुलाउन चाहेनन् । यस्तै नेपाली कांग्रेसका नगर सभापति दीपक चापागाईंले पनि प्रविण जोशी लगायतका अन्य साथीहरु स्थानीय बासिन्दा भएको र एकैठाउँमा भेला भएर कुराकानी गर्दा अन्य आसपासका बासिन्दाले पैसा बाँडेको बुझेर दोषारोपण गरेको जानकारी गराए । उनले भने, 'प्रविण जीहरु एकठाउँमा भेला भएर कुरा गर्दै हुनुन्थ्यो । तर, स्थानीयले पैसा बाँडेको आरोप लगाए । आरोप निराधार हो ।'

स्थानीयको विरोध पश्चात् मोरङ प्रहरीको टोलीले उक्त गाडी नियन्त्रणमा लिएको थियो । तर, हाल प्रहरीले भने नियन्त्रणमा लिइएको सो गाडी छाडिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्