विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगरका मेयर–उपमेयरसहित पार्टीका केन्द्रीय नेताहरुले विभिन्न मतदान केन्द्रबाट मतदान गर्दैछन् । नेकपा एमाले र काँग्रेसका नेताहरुले मतदान गर्न सुरु गरिसकेका छन् । एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट मतदान गरिसक्नु भएको छ ।
नेकपा एमालेबाट मेयरका उमेदवार सागर थापाले विराटनगर–४ कन्चनबारी मतदान केन्द्रबाट मत खसाल्नु भएको छ । यसैगरी नेपाली काँग्रेसकातर्फबाट मेयरका उमेदवार नागेश कोइरालाले सरस्वती मावि. विराटनगरमा मतदान गरिसक्नु भएको छ ।
उपमेयर उमेदवार अमरेन्द्र यादवले स्नातकोत्तर क्याम्पस विराटनगर, एमालेबाट उपमेयर उमेदवार शिल्पा निराला कार्कीले जनपथ मावि विराटनगरबाट मतदान गर्नु भएको छ । यसैगरी नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आदर्श मावि विराटनगर र स्वतन्त्र उमेदवार उमेश यादवले स्नातकोत्तर क्याम्पस विराटनगरबाट मतदान गर्दै हुनुहुन्छ ।