विराटनगर । विराटनगर महानगरपालिकाको मत परिणाम घोषणामा ढिलाई भएपछि थप ३ केन्द्रबाट मतगणनाको तयारी सुरु गरिएको छ ।
मतगणना कार्यलाई तीव्रता प्रदान गर्न ३ वटा नयाँ केन्द्र स्थापना गरि मत गणनाको तयारी थालिएको हो । विराटनगर-७ स्थित आर्दश माध्यमिक विद्यालयमा यसअघि ६ वटा कोठाबाट मतगणना भईरहेको थियो । तर, मत परिणाममा ढिलो आउन थालेपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको निर्देशनमा थप ३ वटा कोठामा मतगणनाको प्रबन्ध सुरु गरिएको हो । सम्भवतः सोमबार साँझदेखि ९ वटा कोठाबाट एकसाथ गणना सुरु हुने विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख भरत लम्सालले बताए । उनले मतगणना कार्यलाई गति प्रदान गर्न गणकहरुको संख्या समेत थप गर्ने तयारी भईरहेको जानकारी दिए ।
‘अहिले कोठाहरु खाली गरिएको छ । मतगणना स्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडानको काम सुरु गरिएको छ’ उनले भने, ‘दिउँसोसम्म सम्पूणर् तयारी पुरा गरि साँझदेखि गणना सुरु गर्नेछौं ।’
विराटनगरस्थित आर्दश स्कुलमा शनिबारदेखि पहिलो चरणमा वडा नं. १, २, १६, १७, १८ र १९ गरि ६ वडाको मतगणना थालिएको थियो । मतगणनाको पछिल्लो नतिजा अनुसार विराटनगरमा अहिले वडा नं. १९, १६ र १७ को गणना सम्पन्न भएको छ । वडा नं. १९ मा नेकपा (एमाले), १६ मा नेपाली काँग्रेस र १७ मा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । बाँकी वडाको गणना जारी छ । थप भएका केन्द्रमा वडा नं. ४ सहित अन्य वडाको गणना सुरु गरिने जनाईएको छ ।
एकसाथ ९ वटा केन्द्रबाट मतगणना सुरु भएपछि सम्भवतः वैशाख ६ गतेसम्म विराटनगरको अन्तिम मतपरिणाम सार्वजनिक हुने अनुमान गरिएको छ ।