चुनावमा अन्तर्घात आरोपमा कांग्रेस केन्द्रीय सदस्य अन्सारीमाथि हातपात प्रयास

चुनावमा अन्तर्घात आरोपमा कांग्रेस केन्द्रीय सदस्य अन्सारीमाथि हातपात प्रयास

विराटनगर । कांग्रेसका नेता एवं महासमिति सदस्य हसन अन्सारीमाथि दुर्व्यवहार गरिएको छ । विराटनगर-१७ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट प्रत्याशी भई भर्खरै पराजित भएका असलम आलम र उनको समूहले अन्सारीलाई दुर्व्यवहार गरेको अन्सारीको आरोप छ।

अन्सारी कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन्। उनले दिएको जानकारी अनुसार विराटनगर-१७ स्थित उनका घरमा असलमको नेतृत्वमा पूर्वाह्न ११:३० बजे ३० जना जति युवक आएर उनीहरूले उद्दण्डता प्रदर्शन गरेका थिए। सो समूहमा अबुल खान, मोहम्मद फैयाज, अनवर, जयद आलम लगायतका रहेको अन्सारीले बताए ।

‘उनीहरू एक्कासि मेरो गेटबाट जबर्जस्ती प्रवेश गरे,’ हसनले भने, ‘त्यसपछि गुण्डागर्दी कस्तो हुन्छ हामी देखाइदिन्छौँ भन्न थाले। यसो भन्ने अबुल थिए। अबुलले नै मलाई देखाएर यसलाई गोली ठोकिदेउँ भने। उनीहरूले मलाई 'आपने चुनाव हरादिया बधाई हो' भन्दै गाली गरे।’

असलमले आफूलाई अन्तर्घात गरेर हराएको आरोप लगाएका छन्। अन्सारीकाअनुसार त्यसपछि उनका घरमा रहेका युवक र उनको कार्यालयका कर्मचारी जम्मा भएर उनलाई छुट्टै राखे । उनीहरूबिचमा बसे र कुनै अप्रिय घटना हुन दिएनन्।

हसनले यस विषयमा आफूले इलाका प्रहरी कार्यालय रानीमा जाहेरी दिएको बताए। उनले जाहेरी दिन गएका आफ्ना कार्यकर्ता मुन्नालाई असलमका कार्यकर्ताले इलाका प्रहरी कार्यालय अगाडि कुटपिट गरेको अन्सारीले आरोप लगाए ।

असलमका समर्थक मोहम्मद फैयाजले हसनको आरोपको खण्डन गर्दै हसनमाथि आक्रमणको प्रयास नगरिएको दाबी गरे।

फैयाजले भने, ‘असलम दाईहरू चुनावी समीक्षा गर्न हसन दाईका घरमा जानु भएको थियो। हसनले एक्कासि गेट बन्द करो, यिन सबको पिटो भन्न थाले। हसनका छोराले बाँसको मुङ्ग्रो र फर्सा निकाले। हाम्रा साथीहरू ज्यान जोगाएर त्यहाँबाट निस्कियौँ।’

इलाका प्रहरीका रानीका इन्स्पेक्टर महेन्द्र दर्नालले चुनावी समीक्षामा विचार नमिलेर सामान्य होहल्ला मात्र भएको भन्ने रिपोर्ट आफूले पाएको बताए।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्