विराटनगरको मेयरमा पछि परेको एमाले वडामा अगाडि : काँग्रेसलाई जित फर्काउन गाह्रो

विराटनगरको मेयरमा पछि परेको एमाले वडामा अगाडि : काँग्रेसलाई जित फर्काउन गाह्रो

विराटनगर । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरको ८ वडा जितेको नेपाली काँग्रेस यसपटक पछि पर्ने सङ्केत देखा परेको छ ।

प्राप्त ताजा मत परिणामलाई बिश्लेषण गर्दा यसपटक काँग्रेसलाई विगतको जित फर्काउन हम्मेहम्मे पर्ने देखिएको हो । बहुरङ्गी गठबन्धन र अन्यौलपुर्ण मतपत्रका कारण काँग्रेसले पाउनुपर्ने अत्याधिक मत प्रयोगविहीन तथा बदर भएपछि यसपटक काँग्रेसलाई आफ्नो साख जोगाउन समस्या हुने भएको हो । ३१ हजार ४०५ मतगणना भईसक्दा विराटनगरमा हालसम्म कुल २० हजार ८५४ मत बदर भईसकेको छ । जसमा मेयर पदमा ८ हजार ४३२ र उपमेयर पदमा १२ हजार ४२२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म बदर भएको मत खसेको कुल मतको २३.२२ प्रतिशत हो । १ लाख ३३ हजार १४२ कुल मतदाता रहेको विराटनगरमा खसेकोे कुल मत संख्या ८९ हजार ७८९ हो ।

छोटो समयमा निर्वाचन घोषणा गरेर मतदाता शिक्षा दिन नसक्दा त्यसको प्रत्यक्ष प्रभाव चुनावमा देखिएको एमालेबाट उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीले बताउँछिन् । उनी भन्छिन्, ‘हामीले पनि चुनावको मुखमा भएपनि सकेसम्म मतदातालाई मतदाता शिक्षा दियौं । तर, आयोगबाट त्यो पहल भएन् । त्यसको परिणाम हामी सबै हेर्दैछौं ।’

विराटनगर महानगरमा हालसम्म १९ मध्ये ६ वडाले आफ्नो जित निकालिसकेको छ । जसमा सबैभन्दा बढी नेकपा (एमाले) ले वडा नं. १, २ र १९ गरी कुल ३ वटा वडामा आफ्नो वर्चश्व कायम गरेको छ । वडा नं. १ मा १९०० मत सहित एमालेका काजि बहादुर बस्नेत, २ मा १३१२ मत सहित कुमार पोखरेल र १९ मा ९८७ मत सहित श्याम घिमिरे निर्र्वाचित भईसकेका छन् । यसअघि वडा नं. १ र १९ मा काँग्रेसका वडाध्यक्ष निर्वाचित थिए ।

ताजा मत परिणाम अनुसार महानगरमा काँग्रेसले अहिलेसम्म एउटा वडा मात्र जितेको छ । वडा नं. १६ मा नेपाली काँग्रेसका उद्वव कुमार भुजेल ७५२ मत सहित निर्वाचित भएका छन् । बाँकी २ वडामा क्रमशः जनता समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारले जित हाँसिल गरेका छन् । वडा नं. १७ मा जसपाका समिम कमर मियाँ १४५० मत सहित दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साहले जित हाँसिल गरेका छन् । साह ७१६ मत प्राप्त गरी वडा नं. १८ को वडाध्यक्ष निर्वाचित भएको विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसअघि १७ र १८ नम्बर वडामा जसपाको वडाध्यक्ष थिए । अहिले क्रमशः वडा नं. ३, ४, ५, ६, ७, १२, १३, १४ र १५ गरी कुल ९ वडाको मतगणना जारी छ ।

हालसम्मको मतपरिणाम अनुसार विराटनगरको मेयरमा अझै पनि नेपाली काँग्रेसका नागेश कोईराला २२५२ मत सहित अग्रता छन् । कोईरालाले ९८८२ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले ७६३० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादव र राप्रपाका उम्मेदवार प्रह्लाद साह पनि क्रमशः ३२३७ र २०९४ मत सहित मेयरको रेसमा छन् ।

यस्तै, उपमेयरमा पनि एमालेको अग्रता कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुुर बुढाथोकीले बताएका छन् । बुढाथोकीका अनुसार एमाले उम्मेदवार शिल्पा निराला कार्की ३२८४ मत सहित अग्रतामा छिन् । कार्कीले ८६९० मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट जसपाका अमरेन्द्र यादवले ५४०६ मत प्राप्त गरेका छन् । उपमेयरको दौडमा रहेका राप्रपाबाट उपमेयर पदकी उम्मेदवार बिन्दा कुमारी लुँईटेल आचार्यले २५२७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले हालसम्म १८९१ मत प्राप्त गरेकी छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भने महानगरमा काँग्रेसले १९ वडामध्ये ८ वडामा जित निकालेको थियो । बाँकीमध्ये ६ वडामा जसपा, ३ मा एमाले र १ मा माओवादीले जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्