विराटनगरको मेयरमा पछि परेको एमाले मोरङको ३ पालिकामा विजयी

विराटनगरको मेयरमा पछि परेको एमाले मोरङको ३ पालिकामा विजयी

विराटनगर । प्रदेश नंं. १ को एकमात्र महानगरपालिका विराटनगरको प्रमुख पदमा पकड गुमाएको नेकपा (एमाले) ले मोरङका अन्य पालिकामा आफ्नो वर्चश्व कायम गरेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ५ पालिका जितेको एमालेले यसपटकको निर्वाचनको प्रारम्भिक मतगणनामै ३ पालिकामा विजयी हाँसिल गरेको हो । मोरङमा हालसम्म १ नगरपालिका र ४ गाउँपालिका गरी कुल ५ पालिकाको मतगणना सम्पन्न भईसकेको छ । जसमा १ नगर र २ गाउँपालिकामा एमाले नेतृत्वको उम्मेदवार विजयी भएका छन् । प्राप्त प्रारम्भिक मत परिणाम अनुसार सुर्य चुनाव चिन्ह भएको नेकपा (एमाले) ले अहिलेसम्म मोरङको लेटाङ नगरपालिका, कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिकामा विजयी सुरुवात गरेको छ । जसमा लेटाङको प्रमुखमा एमालेका भुपेन्द्र कुमार लावती १० हजार २२७, कानेपोखरीको अध्यक्षमा राजमति इङ्गनाम ८ हजार ९७५ र केराबारीको अध्यक्षमा सुमन मिरिङचिङ मगर ७ हजार ८१० मत सहित निर्वाचित भएका छन् ।

मतगणना सम्पन्न भएको बाँकी २ पालिका नेपाली काँग्रेसले जितेकोे विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मोरङको कटहरी र मिक्लाजुङ गाउँपालिकामा नेपाली काँग्रेसले जित हाँसिल गरेको हो । कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी ६ हजार ५६५ र मिक्लाजुङको अध्यक्षमा काँग्रेसकै बवी कुमार राई ८ हजार २५३ मत सहित निर्वाचित भएको कार्यालयका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले बताएका छन् । प्राप्त मतपरिणाम अनुसार मोरङको ५ पालिकामध्ये १ को उपप्रमुख र ३ को उपाध्यक्ष पनि एमालेले नै जितेको उनले जानकारी दिएका छन् ।

बुढाथोकी अनुसार मोरङको लेटाङ नगरपालिकाको उपप्रमुखमा एमालेकी कृष्णकुमारी पोखरेल ९ हजार ४६० मत सहित निर्वाचित भएकी छन् । उपाध्यक्ष तर्फ पनि कटहरी, कानेपोखरी र केराबारीमा क्रमशः सितादेवी राजवंशी ५ हजार ८४८, भोलाप्रसाद अधिकारी ९ हजार ५७० र मनमाया मगर ७ हजार २६७ मत सहित निर्वाचित भएकी छन् । बाँकी एक गाउँपालिकाको उपाध्यक्ष भने नेकपा (माओवादी केन्द्र) ले जितेको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले मोरङको १७ मध्ये ९ पालिकामा जित हाँसिल गरेको थियो । त्यतिबेला एमालेले ५, माओवादीले १, तत्कालिन संघीय समाजवादी फोरमले १ र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) ले १ पालिका जितेको थियो । तर, हालसम्मको मतपरिणाम बिश्लेषण गर्दा विराटनगरको प्रमुख पदमा फराकिलो मतान्तर सहित अघि बढिरहेको काँग्रेस अन्य पालिकामा भने पछि पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्